अधिवेशनका कार्यक्रमहरूमा उत्साहका साथ सहभागी हुन दाङ कांग्रेसका संयोजक शर्माको अनुरोध

घोराही । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समिति दाङका संयोजक गोपालराज शर्माले वडा अधिवेशन शुरु हुन लागेको भन्दै अधिवेशनमा उत्साहका साथ सहभागी हुन अनुरोध गरेका छन् ।

बुधबार प्रेस विज्ञप्ति जारी गरेर संयोजक शर्माले बिहीबार असोज १५ गते वडा अधिवेशन हुन लागेको भन्दै उत्साहपर्वक सक्रिय सहभागिताका लागि अपील गरेका हुन् ।

‘राष्ट्रिय भेलाको निर्णयानुसार यही असोज १५ गतेदेखि वडा अधिवेशन प्रारम्भ भई गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका, प्रदेश सभा क्षेत्र, क्षेत्रीय समिति र जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने हुँदा सबै तहका अधिवेशनहरूमा सक्रियतापूर्वक नेपाली कांग्रेसका सबै कार्यकर्ता, नेताहरूको सहभागिताका लागि सबैमा हार्दिक अनुरोध छ,’ संयोजक शर्माले प्रेस विज्ञप्तिमार्फत् भनेका छन् ।

शेरबहादुर देउवा पक्षीय नेताहरूले भोलि बिहीबार असोज १५ गते वडा अधिवेशन शुरु गर्नका लागि तयारीहरू गरेको दाङ क्षेत्र नं. २ का संयोजक खेमराज विश्वकर्माले बताएका छन् । विश्वकर्माले भने, ‘नेपाली कांग्रेसको १५औँ नियमित महाधिवशन पक्षधर अर्थात् शेरबहादुर देउवा पक्ष नेताहरूले अधिवेशनको सबै तयारी गरेका छौँ । हामी एक भएर उभिएका छौँ ।’

Published : Wednesday, 2026 September 30, 8:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया