अख्तियारद्वारा विभागका अनुसन्धान अधिकृत अधिकारीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसहित ४ जनाविरुद्ध विशेष अदालतमा अभियोग पत्र दायर गरेको छ ।

सोमबार अख्तियारले विशेष अदालत, काठमाडौंमा अधिकारीसहित ४ जनाविरुद्ध अभियोग पत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । घुस लिई भ्रष्टाचार गरेको आरोपमा अधिकारीका साथै वसन्तकुमार बस्याल क्षेत्री, सुरेश चौधरी र रस्मिता भन्ने रश्मिता श्रेष्ठविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको न्यौपानेले जानकारी दिए ।

चीनतर्फको सीमा क्षेत्रमा रोकिएको सामान आयातका लागि स्वीकृति दिलाउने प्रयोजनमा अधिकारीले ह्वाट्सएपमार्फत कुरा गरी घुस मागेको अख्तियारले जनाएको छ ।

अनुसन्धानका क्रममा अधिकारीले क्षेत्री, चौधरी र श्रेष्ठसँगको मिलेमतो तथा योजनामा कम्पनी, उद्योग र भन्सार एजेन्टसँग सम्बन्धित व्यक्तिलाई खाद्य आयात अनुमति लगायतका सेवा सहजीकरण गरिदिएबापत घुस माग्ने र लिने गरेको पाइएको अभियोग पत्रमा उल्लेख छ ।

अनुसन्धानबाट उनीहरूले विभिन्न बैंक खाता तथा क्यूआरमार्फत जम्मा २८ लाख २० हजार ३ सय ७५ रुपियाँ घुस रकम लेनदेन गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

अधिकारीको नेपाल बैंक खातामा २५ हजार, प्रभु बैंक खातामा १ लाख १४ हजार, वसन्तकुमार बस्याल क्षेत्रीको माछापुच्छ«े बैंक खातामा ८ लाख ९४ हजार ५ सय, रश्मिता श्रेष्ठको ग्लोबल आईएमई बैंक खातामा १४ लाख ९३ हजार ३ सय ७५ र सुरेश चौधरीको प्रभु बैंक खातामा २ लाख ६९ हजार रुपियाँ जम्मा भएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।

अख्तियारले अधिकारीविरुद्ध २८ हजार २० हजार ३७५, क्षेत्रीविरुद्ध ८ लाख ९४ हजार ५००, चौधरीविरुद्ध २ लाख ६९ हजार र श्रेष्ठविरुद्ध १४ लाख ९३ हजार ३७५ बिगो कायम गर्दै कैद र जरिवानाको सजायको मागदाबी गरेको छ ।

Published : Monday, 2026 September 28, 7:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया