प्रहरीले पूर्व प्रधानन्यायाधीश जबरालाई पक्राउ गरेकोमा मानव अधिकार संगठनद्वारा पनि बिरोध

काठमाडौं । नेपाल मानव अधिकार संगठनले पूर्व प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरालाई बिना कसूर पक्राउ गरेर छोडिएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार प्रेस विज्ञप्ति जारी गरेर संगठनले वर्तमान सरकार आएपछि राज्यका विभिन्न अंग तथा संवैधानिक पदमा रही देशको सेवा गरिसकेका व्यक्तिहरूलाई प्रचलित संवैधानिक तथा कानूनी व्यवस्था एवं नेपाल पक्ष भएका विभिन्न मानवअधिकार कानूनहरूले सुरक्षित गरेको सम्मानित जीवनयापन गर्ने हक तथा स्वतन्त्रताको हक समेतको गम्भीर उल्लंघन हुने किसिमका घटना भएको भन्दै चिन्ता जनाएको छ ।

संगठनले प्रचलित संवैधानिक तथा कानूनी व्यवस्था विपरीत बिना कुनै कसूर पक्राउ गर्ने, हिरासतमा राख्ने कार्य गरी व्यक्तिको मान मर्दन गर्दै आएको घटनाक्रमको निरन्तरताको रूपमा नेपाल सरकारबाट पूर्व प्रधानन्यायाधीश समेत रहेका व्यक्तिलाई असोज ११ गते राति बिना कुनै कसूर पक्राउ गरी हिरासतमा राखी छोड्ने कार्य थपिन आएको जनाएको छ ।

‘सरकारको यस्तो स्वेच्छाचारी कार्यप्रति नागरिक अधिकार र मानवअधिकार क्षेत्रमा कार्यरत सबै व्यक्ति तथा संगठनको गम्भीर चासो रहन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल मानव अधिकार संगठनको पनि यस घटनाप्रति गम्भीर रूपले ध्यान आकृष्ट भएको छ ।’

‘कुनै पनि व्यक्तिलाई बिना कसूर स्वेच्छाचारी ढंगले राज्यले नियन्त्रणमा लिने कार्य नेपालको संविधान, वैयक्तिक अधिकार, प्रचलित कानुन, नेपाल पक्ष राष्ट्र भई हस्ताक्षरित मानवअधिकार कानुन तथा मानवअधिकार विश्वव्यापी घोषणापत्र समेतको उपहास हो भन्ने यो संगठनको ठहर छ,’ विज्ञप्तिमा भनिएको छ ।

‘नेपाल संवैधानिक सर्वोच्चता रहेको लोकतान्त्रिक मुलुक भएकोले संविधान र प्रचलित कानूनबमोजिम मात्र पारदर्शी ढंगले आफ्ना जिम्मेवारी पूरा गर्नु सरकारको ऐच्छिक नभई अनिवार्य कर्तव्य हो भन्ने कुरा वर्तमान सरकारलाई यो संगठन स्मरण गराउँदछ,’ संगठनको विज्ञप्तिमा उल्लेख छ ।

‘लोकतान्त्रिक प्रणाली पदीय व्यक्तिको मनोमालिन्य र स्वेच्छाचारिताबाट नभई मानवअधिकार, शक्ति सन्तुलनको सिद्धान्त, संविधानवाद, विधिको शासन र मौलिक तथा वैयक्तिक अधिकारको सम्मानबाट मात्र चल्न सक्ने हुनाले वर्तमान सरकार लगायत सम्पूर्ण सरोकारवाला व्यक्ति तथा निकायहरूमा राज्यशक्तिको दुरुपयोग र स्वेच्छाचारिताबाट शासन नगर्न तथा संविधान र लोकतान्त्रिक मूल्य मान्यता अनुरूप विधिको शासनको सम्मान गर्न यो संगठन हार्दिक अपील गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले शनिबार राति सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरालाई बिना कारण पक्राउ गरेर झण्डै १५ घण्टा हिरासतमा राखेर छाडेको छ । सो घटनाको राष्ट्रिय मानव अधिकार आयोग लगायत चौतर्फी बिरोध भइरहेको छ ।

Published : Monday, 2026 September 28, 3:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया