मनाङमा वर्षाले पुर्‍याएको क्षतिबारे कांग्रेस सांसद गुरुङले संसदमार्फत् सरकारलाई गराए ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले अबिरल वर्षाले मनाङ जिल्लामा पुर्‍याएको क्षतिका विषयमा संसदलाई जानकारी गराउँदै राहत, उद्धार र पुनःनिर्माणका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद गुरुङले भने, ‘यही असोज ८ देखि ११ गतेसम्म अबिरलको वर्षाको कारण मनाङ जिल्लामा ठूलो क्षति भएको छ । मनाङको सदरमुकाम चामे क्षेत्रका आधा दर्जन घर स्थानीय खहरे खोलाले बगाएको छ ।’

पूर्वराज्यमन्त्री समेत रहेका सांसद गुरुङले भने, ‘घट्टेखोलामा आएको बाढी, पहिरोले मर्स्याङदी नदी थुनेर मनाङ जाने राजमार्गमा बनेको पुल डबानमा पर्नुको साथै तातोपानीको आसपासमा रहेका घरहरू डुबानमा परेको छ ।’

‘स्थानीय जनता र स्थानीय सुरक्षाकर्मीको सहयोगमा सुरक्षित स्थानमा राखिएको छ । नासोँ गाउँपालिका तालगाउँका डेढ दर्जनभन्दा धेरै घरहरूमा मर्स्याङदी नदीको बाढीले क्षति पुर्‍याएको छ,’ उनले भने, ‘दर्जनौं पुल, पुलेसाहरू बगाएको छ । जसका कारण सामान्य आवत जावत समेत समस्या उत्पन्न भएको छ ।’

‘बेशीसहर–चामे सडक अन्तर्गतका विभिन्न दर्जनौँ स्थानमा पहिरो खसी सडक पूर्णरुपमा बन्द छ । चामे–खाङसर सडकका केही भागहरू मर्स्याङदी नदीको कटानबाट बगाएकोले सवारी आवागमन पूर्णरुपले बन्द हुनुको साथै मानिसहरूको आवत जावत समेत गर्न नसकिएको र यसै मनाङ जिल्लाको नार्पा भूमि गाउँपालिकामा हिमपात र वर्षाको कारण सञ्चार सेवा अबरुद्ध भइ त्यहाँका जनतासँग सम्पर्क बिहीन भएको छ,’ सांसद गुरुङले भने ।

‘नार्पा भूमि गाउँपालिकामा हिमलुङ हिमाल चढ्न व्यवस्थापन गर्न गएको २७ जना नेपाली सहयोगी २ जनाको मृत्यु भएको छ र ११ जना सम्पर्कमा आएको तथा १४ जना अझै पनि सम्पर्क बिहीन रहेको जानकारी प्राप्त हुन आएको छ,’ सांसद गुरुङले भने, ‘सम्पर्क बिहीनहरूको तत्काल खोज, तलास र उद्धारका लागि साथै सडक र सञ्चारको सूचारु सेवा सञ्चालका लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

कांग्रेस सांसद गुरुङले भने, ‘अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने मनाङको बिभिन्न स्थानमा बाढी, पहिरोको कारण सडक तथा पदमार्ग अबरुद्ध भएकोले सयौँ बाह्य तथा आन्तरिक पर्यटक जिल्लाको विभिन्न स्थानमा रोकिएका छन् । उनीहरूको उद्धारको लागि सरकारले तत्काल कमद चाल्न जोडदाररुपमा माग गर्दछु ।’

‘अबिरल वर्षासँगै मनाङ जिल्ला लगायत हिमाली जिल्लाहरूमा भएका हिमपातले त्यहाँ भित्रने तयारी अवस्थामा अन्नबाली समेत नष्ट भएको छ,’ उनले भने, ‘वर्षको एक पटक उत्पादन हुने अन्नबाली हिमपातले नष्ट भएको छ । अब हिमाली जिल्लाहरूमा खाद्यान्न संकट हुने निश्चित छ । यसैले सरकार त्यसतर्फ उचित ध्यान दिन माग गर्दछु ।’

उनले भने, ‘मनाङ जिल्लामा हजारौँ बाह्य तथा आन्तरिक पर्यटक भित्रिने क्रम जारी हुँदै गर्दा बाढी, पहिरो र डुबानको कारण आउन सक्ने अवस्था छैन । जसको कारण मनाङ जिल्लाका पर्यटन व्यवसायीहरूले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था देखिन्छ । सरकारले मनाङ जिल्ला लगायत देशभरिका पर्यटन व्यवसायीहरूको आर्थिक क्षतिलाई पनि उचित सम्बोधन गर्ने कार्यक्रम ल्याउन सरकारसँग आग्रह गर्दछु ।’

सांसद गुरुङले भने, ‘वर्षाका कारण मनाङ जिल्लाका विशेष गरि नासोँ गाउँपालिका क्षेत्रमा बिद्युत्, टेलिफोन सेवा अझै पनि सुचारु हुन सकेको छैन । उद्धार र सूचना प्रणालीमा अत्यन्तै कठिनाइ भइरहेकोले तत्कालै बिद्युत् र टेलिफोन सेवा सञ्चालनको लागि जोडदार माग गर्दछु ।’

उनले भने, ‘अबिलर वर्षाका कारण बाटोघाटो, सडक र पुल बिग्रिएको कारणले सयौँ बाह्य तथा आन्तरिक पर्यटकहरू मनाङ जिल्लामा बिभिन्न स्थानमा रोकिएर बसेका छन् उनीहरूको उद्धार गर्न सरकारसँग माग गर्दछु ।’

मनाङ जिल्लामा अबिलर वर्षाका कारण ठूलो क्षति भएको छ । मनाङबाट निर्वाचित सांसद गुरुङले जिल्लाका जनतालाई परेको समस्याका बारेमा संसदमार्फत् सरकारको ध्यानाकर्षण गराएका हुन् ।

Published : Monday, 2026 September 28, 1:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया