विश्व पर्यटन दिवसमा होटल व्यवसायी महासंघको राष्ट्रिय डिजिटल साक्षरता अभियान शुभारम्भ

काठमाडौं । ४७औँ विश्व पर्यटन दिवसको अवसरमा होटल व्यवसायी महासंघ नेपालले होटल तथा रेस्टुरेन्ट क्षेत्रको डिजिटल रूपान्तरण र व्यावसायिक सशक्तीकरणका लागि राष्ट्रिय डिजिटल साक्षरता अभियानको शुभारम्भ गरेको छ ।

नेपाल सरकार, बागमती प्रदेशका पर्यटन, यातायात, उद्योग तथा श्रम मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो । नेपाल उद्योग ब्यापार महासंघका वरिष्ठ उपाध्यक्ष यज्ञप्रसाद पन्त, नेपाल पर्यटन बोर्डका योजन तथा अनुगमन प्रमुख लक्ष्मण गौतम, पर्यटन कार्यालय बागमती प्रदेशका प्रमुख पवन पोखरेल, होटल व्यवसायी महासंघ नेपालका पूर्वअध्यक्ष अमृतबहादुर भुजेल तथा भिटोफ नेपालका अध्यक्ष हरिशरण थपलिया लगायत पर्यटन तथा निजी क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।

कार्यक्रममा महासंघका केन्द्रीय पदाधिकारी तथा सदस्य, प्रदेश तथा जिल्ला संघका प्रतिनिधि, आबद्ध संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधि, होटल तथा रेस्टुरेन्ट व्यवसायी, सञ्चारकर्मी एवं पर्यटन क्षेत्रका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

साना तथा मझौला व्यवसायीको क्षमता अभिवृद्धिमा मन्त्रालयको साथ रहने भन्दै कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका पर्यटन, यातायात, उद्योग तथा श्रम मन्त्रालयका सचिवले नेपालको आतिथ्यता क्षेत्रको समग्र रूपान्तरणका लागि साना तथा मझौला होटल व्यवसायीको क्षमता अभिवृद्धि र व्यावसायिक सशक्तीकरण अपरिहार्य रहेको बताए ।

उनले साना तथा मझौला व्यवसायीको क्षमता विकास र प्रविधिको व्यावहारिक प्रयोग विस्तार नभएसम्म नेपालको आतिथ्यता क्षेत्रलाई समयानुकूल र प्रतिस्पर्धी बनाउन चुनौती रहने उल्लेख गर्दै महासंघले सुरु गरेको राष्ट्रिय डिजिटल साक्षरता अभियानलाई महत्वपूर्ण पहलका रूपमा लिएका छन् ।

अभियानले व्यवसायीलाई डिजिटल प्रविधिसँग जोड्दै उनीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले यसलाई सफल बनाउन मन्त्रालयको पूर्ण साथ, सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले होटल व्यवसायी महासंघले अघि सारेको डिजिटल साक्षरता अभियानलाई देशव्यापी रूपमा विस्तार गर्न नेपाल उद्योग वाणिज्य महासंघ सहकार्य गर्न तयार रहेको बताए ।

उनले प्रदेश तथा जिल्ला तहसम्मका व्यवसायीलाई समेटेर तालिम, क्षमता अभिवृद्धि र व्यावसायिक सहकार्यका कार्यक्रम अघि बढाउन दुवै महासंघबीच समन्वय आवश्यक रहेको उल्लेख गरेका छन् । निजी क्षेत्रका व्यवसायीलाई प्रविधि र नयाँ व्यावसायिक अवसरसँग जोड्ने यस अभियानमा नेपाल उद्योग वाणिज्य महासंघले आवश्यक सहयोग र सहकार्य गर्ने धारणा राखेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष यज्ञप्रसाद पन्तले पनि निजी क्षेत्रको संस्थागत सहकार्य र व्यवसायीको क्षमता विकासमार्फत पर्यटन तथा आतिथ्यता क्षेत्रको व्यावसायिक विकासमा जोड दिएका छन् ।

नेपाल पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतमले पर्यटन बोर्डले विगतदेखि नै पर्यटन क्षेत्रको प्रवद्र्धन, व्यावसायिक क्षमता अभिवृद्धि तथा विभिन्न पर्यटनसम्बन्धी कार्यक्रमलाई सहयोग गर्दै आएको उल्लेख गरेका छन् । उनले होटल तथा रेस्टुरेन्ट क्षेत्रको डिजिटल रूपान्तरणका लागि महासंघले अघि सारेको अभियान महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा होटल व्यवसायी महासंघसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्न नेपाल पर्यटन बोर्ड तयार रहेको धारणा व्यक्त गरेका छन् ।

विश्व पर्यटन दिवसलाई औपचारिक समारोहमा मात्र सीमित नराखी पर्यटन व्यवसायमा प्रत्यक्ष परिवर्तन ल्याउने उद्देश्यले महासंघले एकवर्षे राष्ट्रिय अभियान अघि बढाएको हो ।

यस वर्षको विश्व पर्यटन दिवसको डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्तासम्बन्धी अन्तर्राष्ट्रिय एजेन्डालाई आत्मसात् गर्दै सुरु गरिएको अभियानले नेपालको परम्परागत आत्मीय आतिथ्यतालाई आधुनिक प्रविधिसँग जोड्ने लक्ष्य राखेको छ ।

महासंघका अध्यक्ष टी.आर. भण्डारी ‘शंकर’को नेतृत्वमा अघि बढाइएको यस अभियानले विशेषगरी साना तथा मझौला होटल र रेस्टुरेन्ट व्यवसायीको डिजिटल क्षमता अभिवृद्धि गर्दै ठूला व्यवसायलाई समेत प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउने लक्ष्य लिएको छ ।

अभियानको मूल उद्देश्य डिजिटल प्रविधिको पहुँचबाट पछाडि रहेका व्यवसायीलाई आवश्यक ज्ञान, सीप र प्राविधिक सहयोग उपलब्ध गराउँदै उनीहरूको दैनिक व्यवसाय सञ्चालन, बजार पहुँच र सेवा प्रवाहमा सुधार ल्याउनु हो ।

महासंघले आफ्नो सातवटै प्रदेश, जिल्ला तथा आबद्ध संघ–संस्थाको संगठनात्मक सञ्जाल परिचालन गरी अभियानलाई देशभर विस्तार गर्ने जनाएको छ ।

व्यावसायिक विवरण र लोकेसन व्यवस्थापन तथा अनलाइन बुकिङ प्रणाली, होटल व्यवस्थापन प्रणाली, डिजिटल मार्केटिङ, सामाजिक सञ्जालको व्यावसायिक प्रयोग, ग्राहक समीक्षा व्यवस्थापन तथा डिजिटल सुरक्षासम्बन्धी व्यावहारिक तालिम सञ्चालन गरिनेछ ।

विशेषगरी ग्रामीण क्षेत्र, राजमार्ग तथा नयाँ पर्यटकीय गन्तव्यमा सञ्चालित व्यवसायलाई डिजिटल बजारसँग जोड्दै अनलाइन माध्यमबाट ग्राहक पहुँच र व्यावसायिक अवसर विस्तारमा सहयोग पुर्‍याउने लक्ष्य राखिएको छ ।

व्यवसायको आकार, स्थान र आवश्यकताअनुसार उपयुक्त प्रविधि छनोट तथा प्रयोग गर्न सक्ने क्षमता विकास गर्नु अभियानको प्रमुख उद्देश्य हुनेछ । यसका लागि व्यवसायीको डिजिटल अवस्थाको पहिचान, आवश्यकताअनुसार प्रशिक्षण र प्राविधिक सहयोगलाई प्राथमिकता दिइनेछ ।

होटल तथा रेस्टुरेन्ट क्षेत्र पर्यटन, रोजगारी सिर्जना र उद्यमशीलताको महत्वपूर्ण आधार हो । बदलिँदो पर्यटन बजारमा अनलाइन उपस्थिति, डिजिटल बुकिङ, ग्राहक समीक्षा र प्रविधिमैत्री सेवा व्यवसाय सञ्चालनका महत्वपूर्ण पक्ष बन्दै गएका छन् ।

यस्तो अवस्थामा शुरु गरिएको राष्ट्रिय डिजिटल साक्षरता अभियानले साना, मझौला तथा ठूला व्यवसायबीच प्रविधि र अवसरको पहुँचमा रहेको दूरी घटाउन, व्यवसायीको क्षमता अभिवृद्धि गर्न र नेपाली आतिथ्यता क्षेत्रलाई समयानुकूल बनाउन योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

महासंघले आइतबारदेखि शुरु भएको अभियानलाई आगामी एक वर्ष पहिलो कार्यचक्रका रूपमा देशभर सञ्चालन गर्दै संस्थागत निरन्तरता दिने जनाएको छ ।

सरकारी निकाय, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल पर्यटन बोर्ड तथा निजी क्षेत्रबाट व्यक्त भएको सहकार्यको प्रतिबद्धताले अभियानलाई राष्ट्रियस्तरमा विस्तार गर्न थप आधार तयार गरेको महासंघको विश्वास छ ।

विश्व पर्यटन दिवसको अवसरमा शुरु भएको यस अभियानले डिजिटल प्रविधिको पहुँचलाई व्यवसायीको वास्तविक सशक्तीकरणसँग जोड्दै नेपालको होटल तथा रेस्टुरेन्ट क्षेत्रलाई आधुनिक, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने लक्ष्य लिएको छ ।

Published : Sunday, 2026 September 27, 8:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया