गगन समूहको तथाकथित अधिवेशन पोखराका जेनजीद्वारा अस्वीकार, कास्कीमा देउवा पक्षको भव्य तयारी

पोखरा । नेपाली कांग्रेसको आन्तरिक निर्वाचनलाई लिएर पार्टीभित्र देखिएको दुई धारप्रति ‘जेनजी’ नेता विपिन पौडेलले चिन्ता व्यक्त गरेका छन् ।

१४औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि बनेका र हालसम्म नेपाल विद्यार्थी संघ (नेविसंघ) पोखरा महानगरका अध्यक्ष रहेका विपिन पौडेल असोज ३ गतेको नेपाली कांग्रेसका हाइज्याकर गगन थापा समूहको अधिवेशनलाई अस्वीकार गरेर सहभागिता जनाएका छैनन् ।

असोज १५ गते शेरबहादुर देउवा पक्षले कास्कीमा अधिवेशन गर्न लागेको छ । असोज ५ गते देउवा पक्षले तयारी भेला कार्यक्रम राखेको थियो । नेपाली कांग्रेसका महासमिति सदस्य एवं नेपाल तरुण दल कास्कीका पूर्व अध्यक्ष ऋषिराम काफ्लेको संयोजकत्वमा जिल्ला समिति गठन भएको छ । जेनजी समूहका कांग्रेसका युवा नेता पौडेल उक्त समितिको जिल्ला सदस्य चयन भएका छन् ।

भेलाले क्षेत्रीय संयोजक र पालिका संयोजकहरू समेत तोकेको छ । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिशन तयारी समितिको निर्देशानुसार भेलामा केन्द्रीय सदस्य गुरु बराल, प्रदेशका उप–सभापति मेखलाल श्रेष्ठ, कास्कीका पूर्व सभापति शोभियत अधिकारी, गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ, महासमिति सदस्य पोषनाथ शर्मा, विकाश गुरुङ, गण्डकी प्रदेश सदस्य एवं महाधिवेशन प्रतिनिधि आशिक गुरुङ, गणेश भट्टराई लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

जेनजी पौडेलले आफू युवा नेतृत्वको प्रबल पक्षधर भए पनि विभाजित अवस्थामा हुने एकल अधिवेशनले पार्टी थप कमजोर हुने भन्दै पहिले एकता आवश्यक रहेको बताएका छन् । १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले गर्ने १५औँ महाधिवेशनमा सबैलाई सहभागी हुन जेनजी पौडेलले आग्रह गरेका छन् ।

अग्रज नेताहरूको योगदान र अनुभवलाई सम्मान गर्दै युवालाई नेतृत्वमा ल्याउनुपर्ने पौडेलले बताएका छन् । ‘कांग्रेस एक होस्, त्यसपछि अधिवेशन होस्,’ जेनजी नेता पौडेलले भनेका छन् ।

Published : Saturday, 2026 September 26, 9:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया