सभामुखद्वारा जथाभावी नियमापत्ति नगर्न सांसदहरूलाई चेतावनी

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले बोल्नकै लागि मात्र नियमापत्ति नगर्न सांसदहरूलाई कडा चेतावनी दिएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अर्यालले नियमापत्ति हुनु स्वाभाविक भए पनि स्पष्ट आधार र औचित्य पुष्टि हुनुपर्नेमा सांसदहरूलाई सचेत गराएका हुन् ।

सभामुख अर्यालले भने, ‘माननीय सदस्यहरूबाट बैठकमा छलफलका क्रममा नियमापत्ति हुनु स्वाभाविक नै हो । यद्यपि, जे विषयमा नियमापत्ति गरिएको हो सोभन्दा बाहिर गई आफ्ना भनाइ राख्न तथा बोल्नका लागि मात्र नियमापत्ति गर्ने कार्य शोभनीय देखिँदैन ।’

‘माननीय सदस्यहरूले नियमावलीको व्याख्या तथा स्पष्ट आधार एवं औचित्य पुष्टि हुन सक्ने गरी नियमापत्ति गर्न सान्दर्भिक हुने व्यहोरा जानकारी गराउँदछु,’ उनले भनेका छन् ।

प्रतिनिधिसभाको अर्को बैठक असोज १२ गते सोमबार बिहान ११ बजे बस्ने गरी बैठक स्थगित भएको छ ।

Published : Friday, 2026 September 25, 6:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया