पालिका संयोजक तोक्दै कांग्रेस खोटाङले अघि बढायो १५औँ महाधिवेशन

दिक्तेल । शेरबहादुर देउवा पक्षीय नेताहरूले नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै खोटाङ जिल्लामा पालिकास्तरीय संगठनात्मक तयारीले गति लिन थालेको छ ।

महाधिवेशन तयारी समितिले जिल्लाका ६ पालिकाका लागि संयोजकहरू तोकेसँगै अधिवेशनको तयारीलाई पालिका तहसम्म विस्तार गरिएको छ ।

महाधिवेशन तयारी समितिका जिल्ला संयोजक रोजन राईका अनुसार पालिकास्तरमा संगठनात्मक समन्वय तथा अधिवेशनसम्बन्धी तयारीलाई व्यवस्थित बनाउन संयोजक तोकिएको छ ।

नयाँ जिम्मेवारीअनुसार बराहपोखरीमा खिलाराज राई (दीपक), जन्तेढुंगामा अनिता राई, दिप्रुङ चुइचुम्मामा अमृत गिरी, साकेलामा योगेश गुरुङ, हलेसी तुवाचुङ नगरपालिकामा सयन्द्र राई र खोटेहाङमा कर्णबहादुर राउतलाई पालिका संयोजकको जिम्मेवारी दिइएको राईले जानकारी दिएका छन् ।

पालिका संयोजक चयनसँगै सम्बन्धित पालिकामा पार्टीको संगठनात्मक समन्वय, कार्यकर्ता परिचालन तथा महाधिवेशन तयारीका गतिविधिलाई थप व्यवस्थित बनाउने कांग्रेसको तयारी छ ।

जिल्ला संयोजक राईले सामाजिक सञ्जालमार्फत जिम्मेवारी पाएका संयोजकहरूलाई बधाई दिँदै महाधिवेशन तथा जिल्ला अधिवेशन सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । उनले संगठन निर्माणसँगै कार्यकर्ताबीचको एकता र समन्वयलाई बलियो बनाउन तथा तोकिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्न आग्रह गरेका छन् ।

कांग्रेस खोटाङमा वडा तहबाट सुरु भएको महाधिवेशन केन्द्रित गतिविधि क्रमशः पालिका तहसम्म विस्तार भएको छ । पालिका संयोजक चयनलाई त्यसैको अर्को चरणका रूपमा हेरिएको छ ।

महाधिवेशनको तयारीसँगै जिल्लामा कांग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ताबीच संगठनात्मक सक्रियता पनि बढ्दै गएको छ । यस्तो अवस्थामा पालिका संयोजकको जिम्मेवारीले स्थानीय तहमा महाधिवेशन केन्द्रित गतिविधि समन्वय गर्न भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

Published : Friday, 2026 September 25, 6:10 am

फेसबुकबाट तपाईको प्रतिक्रिया