हामी बाढीको जोखिममा केन्द्रित छौं, बिगतमा पहाडी क्षेत्रमा पहिरोले ठूलो मानवीय क्षति भएका छन् : सांसद डा.रेग्मी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा.धनञ्जय रेग्मीले बाढीसँगसँगै पहिरोको जोखिमका विषयमा जनचेतना फैलाउनुपर्ने बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद डा.रेग्मीले सरकार खोलानाला र नदीको बाढीमा मात्रै केन्द्रित रहेको भन्दै पहाडी क्षेत्रमा वर्षातको समयमा पहिरोको पनि ठूलो जोखिम रहेको बताए । उनले बाढी र पहिरोसम्बन्धी सार्वजनिक सञ्चारहरूबाट जनचेतना फैलाउन सरकारसँग अनुरोध गरेका छन् ।

रास्वपाका सांसद डा.रेग्मीले भने, ‘बंगालको खाडीमा न्यूनचापीय प्रणालीका कारण आगामी केही दिन नेपालका बिभिन्न भागमा भारीदेखि अति वर्षा हुने चेतावनी आइरहेको छ । यस्तो अवस्थामा सरकारले नागरिकलाई अनावश्यक रुपमा घर बाहिर ननिस्कन र सुरक्षित रहन आग्रह गरिरहेको छ । म यसलाई अत्यन्तै सकारात्मकरुपमा लिन्छु ।’

‘तर, घरमै बस्नुस् भन्ने सन्देश सँगसँगै घर र वरपरको जमीन सुरक्षित छ कि छैन ? हेर्नुस् होस् भन्ने सन्देश पनि जनतासामु पु¥याउन अत्यन्तै जरुरी छ,’ सांसद डा.रेग्मीले भने, ‘विशेष गरि पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले आफ्नो घर वरीपरी जमीनमा नयाँ चिरा परेको छ कि ? जमीन धसिएको वा फुलेको छ कि ? रुख वा बिजुलीका खम्बा अस्वभाविक रुपमा ढल्किएका छन् कि ? घरको भित्ता वा जगमा नयाँ चिरा देखिएको छ कि ? अथवा पहिला नभएको ठाउँबाट अचानक पानी निस्किएको छ कि भन्ने कुरामा ध्यान दिनु आवश्यक छ ।’

डा.रेग्मीले भने, ‘यी पहिरोका सम्भावित पूर्व संकेतहरू हुन् । यस्तो असामान्य संकेत देखिएमा जोखिमयुक्त घरमै बसिरहनु भन्दा समयमा सुरक्षित स्थानमा सर्नुपर्छ ।’

‘अहिले हामी बाढीको जोखिममा केन्द्रित भएर खोलानाला र नदीतर्फ हेरिरहेका छौं । बिगतमा पहाडी क्षेत्रमा राति मानिसहरू सुतिरहेको अवस्थामा पहिरोले घर पुरिएर वा बगाएर ठूलो मानवीय क्षति भएका घटनाहरू प्रसस्त छन्,’ रास्वपाका सांसद डा.रेग्मीले भने, ‘त्यसैले बाढीसँगै पहिरोको जोखिमलाई पनि उत्तिकै प्राथमिकतामा राख्नुपर्छ ।’

उनले भने, ‘आगामी केही दिन एफएम, रेडियो, टेलिभिजन, मोबाइल एप तथा रिङ ब्याकटोन र सामाजिक सञ्जालमार्फत् बाढीको चेतावनीसहित पहिरोका संकेतहरू सरल भाषामा जनचेतना फैलाइयोस् ।’

‘बिपद् आएपछि उद्धार गर्नुभन्दा सहि सूचना घरघरमा पुर्‍याएर नागरिकको ज्यान जोगाउनु सबैभन्दा प्रभावकारी बिपद् व्यवस्थापन हो,’ रास्वपाका सांसद डा.रेग्मीले भने ।

Published : Thursday, 2026 September 24, 1:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया