अख्तियारद्वारा ठेकेदार र त्रिपुरासुन्दरीका कर्मचारीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक निर्माण योजनाको ठेक्कामा ७३ लाखभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका कर्मचारीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले मंगलबार विशेष अदालतमा आर्थिक वर्ष २०७८/०७९ मा त्रिपुरासुन्दरी– ६ स्थित हरियापानी पालुङ्ग माझफाल हुँदै रूकुमसम्म जोड्ने मोटरबाटो निर्माणको ठेक्कामा सबैभन्दा कम कबोल गर्नेलाई पाखा लगाएर बढी रकम कबोल गर्नेको बोलपत्र स्वीकृत गरेको अभियोगमा आरोपपत्र दायर भएको हो ।

नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल, तत्कालीन इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिराचन्द्र धराला, बरिष्ठ लेखा सहायक रूपचन्द्र बुढा, शिक्षा अधिकृत भीमबहादुर थापा, एमआइएस अपरेटर हरिचन्द्र बिष्ट, बोलपत्र मूल्यांकन समितिका सदस्य शिशिरकुमार गुरूङ, छल निर्माण सेवा प्रा.लि. दुनै र उक्त कम्पनीका प्रोप्राइटर दीपचन्द्र रोकायालाई प्रतिवादी कायम गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

मूल्य अभिवृद्धि कर, पिएस र कन्टीजेन्सीसमेत गरी एक करोड आठ लाख २६ हजार ८९७ रुपियाँ लागत अनुमान स्वीकृत भई योजना निर्माणको लागि २०७९ वैशाख २५ गते बोलपत्र आह्वान भएको थियो ।

सात वटा निर्माण व्यवसायी फर्मले वोलपत्र पेस गरेकोमा प्रतिवादीहरूले बोलपत्र मूल्यांकनको क्रममा समेत लक्षित बोलपत्रदाताबाहेकका अन्य बोलपत्रदातालाई बञ्चित गर्न प्रोप्राइटर–संचालकको नागरिकताको प्रमाणपत्रलाई शर्त बन्देज राखी बोलपत्रको मूल्याङ्कन प्रकृया अघि बढाएका थिए ।

उनीहरूले मिलेमतोमा सबैभन्दा कम (३० लाख ९९ हजार ८१८ रूपियाँ) कबोल गर्ने निर्माण सेवालाई अनुत्तीर्ण गरी सबैभन्दा बढी रकम (एक करोड चार लाख ६१ हजार ७७२ रूपियाँ) कबोल गर्ने छल निर्माण सेवा प्रा.लि., दुनै डोल्पाको बोलपत्र स्वीकृत गरेका आरोपपत्रमा उल्लेख छ ।

प्रतिवादीहरूले सबैभन्दा घटी र सबैभन्दा बढी रकम कबोल गर्ने बोलपत्रदाताहरूबीचको फरकबाट ७३ लाख ६१ हजार ९५३ रुपियाँ हिनामिना, हानिनोक्सानी गरेको अख्तियारले जनाएको छ ।

Published : Tuesday, 2026 September 22, 8:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया