काठमाडौंमा दुई वटा बसमा आगो लाग्यो, दुई चालक र सहचालक घाइते
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर चोकस्थित बस स्टप अगाडि भाडाको सार्वजनिक बसमा आगलागी हुँदा चालक जलेर गम्भीर घाइते भएका छन् ।
सोमबार बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । ट्राफिक प्रहरीसँगको विवादपछि काभ्रे घर भएका चालक २५ वर्षीय दावा लामाले आफै बसमा आगजानी गरेको हुन सक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।
रिद्धिसिद्धि यातायातको बस मूलपानी–थानकोट रुटमा चल्ने गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी नरेशराज सुवेदीले जानकारी दिएका छन् ।
बसमा आगो लाग्दा चालक बसभित्र रहेका थिए । जलेर घाइते भएका चालक लामालाई उपचारका लागि कीर्तिपुर अस्पताल पठाइएको छ ।
चालक आफैँले बसमा आगजनी गरेको प्रहरीको प्रारम्भीक निष्कर्ष छ । बसमा आगोलाग्दा चालक बसभित्रै भएको तथा नभागेकोले उनैले आगो लगाएको प्रहरीको प्रारम्भीक बुझाइ छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले पनि चालकले नै आगजनी गरेको हुन सक्ने आशंका रहेको भन्दै यसबारे थप अनुसन्धानपछि जानकारी दिने बताए ।
एसएसपी घिमिरेले भने, ‘यकिन कारण त पूरा अनुसन्धानपछि खुल्ला । अहिलेसम्मको अनुसन्धानमा चालकबाट नै आगजनी भएको भन्ने हाम्रो निष्कर्ष छ ।’
आगलागीको कारण पनि केही बताइएको छैन । ट्राफिक प्रहरीसँग विवाद भएपछि चालकले बसमा आगजनी गरेको हुनसक्ने प्रहरीको आशंका छ । बसमा लागेको आगो सशस्त्र प्रहरीले दमकलको सहायतामा निभाइसकेको छ ।
उता, काठमाडौंको बालाजुमा बसमा आगलागी हुँदा दुई जना घाइते भएका छन् । आइतबार राति पौने १० बजे काठमाडौं महानगरपालिका–१६ माछापोखरी चोकस्थित बुद्ध मल पछाडिको खोला करिडोरमा पार्किङमा रहेको बसमा आगलागी भएको हो ।
नारायणी यातायातको बा ३ ख ५०४३ नम्बरको बसमा अचानक आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी घिमिरेले जानकारी दिएका छन् ।
बसका चालक धादिङ ज्वालामुखी गाँउपालिका–३ का ३१ वर्षीय सुरेश अर्याल र सहचालक नीलकण्ठ गाउँपालिका–२ का २३ वर्षीय राजेश परियार घाइते छन् । आगलागी हुँदा उनीहरू बसभित्रै थिए ।
चालक सुरेशको अनुहार, हात र खुट्टामा जलेको छ । सहचालक राजेशको दाहिने हात र पञ्जामा जलेको छ । उनीहरूको उपचारका लागि जनमैत्री अस्पताल बालाजु हुँदै राति कीर्तिपुर बर्न अस्पतालमा रिफर भएको थियो ।
बसमा आगो लागेपछि बालाजु औद्योगिक क्षेत्रको दमकल, टोखा नगरपालिकाको दमकल, स्थानीय र प्रहरीको सहयोग राति सवा १० बजे नियन्त्रणमा लिइएको थियो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
बिचार/ब्लग
देशको राजनीति कठघरामा उभिएको छ : अब निर्मम समीक्षा आवश्यक छ
पं.ज्यो.रुद्रनाथ अधिकारी

फेसबुकबाट तपाईको प्रतिक्रिया