कांग्रेस नेतृ उर्मिला कार्कीको सडक दुर्घटनामा निधन, डा.कोइरालाद्वारा श्रद्धाञ्जलि व्यक्त

काठमाडौं । नेपाली कांग्रेस १५औँ महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले नेतृ स्व.उर्मिला कार्कीलाई पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि दिएका छन् ।

संयोजक प्रा.डा.कोइरालाले पशुपति आर्यघाटमा कार्कीलाई श्रद्धाञ्जलि दिएका हुन् । उनको पशुपति आर्यघाटमा अन्तिम दाहासंस्कार भएको छ । स्व.कार्की नेपाली कांग्रेस दोलखाकी नेतृ हुन् ।

नेतृ कार्कीलाई कांग्रेस नेताहरू कृष्णप्रसाद सिटौला, एन.पी. साउद लगायत दोलखाका नेता, कार्यकर्ता, घरपरिवार तथा आफन्तजनहरूले श्रद्धाञ्जलि दिएका छन् ।

दोलखा जिल्लाको सैलुङ गाउँपालिका वडा नं. ५ निवासी स्व.कार्की कांग्रेस नेतृ हुन् । कांग्रेसको महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, नेपाल महिला संघ दोलखाकी अध्यक्ष, गाउँपालिकाकी पूर्व सभापति तथा गाउँपालिकाकी उपाध्यक्ष उम्मेदवार कार्कीको २०८३ असोज २ गते काठमाडौंको जडीबुटीमा भएको सवारी दुर्घटनामा परेर निधन भएको थियो ।

कांग्रेस नेता कुन्दनराज काफ्लेले कांग्रेस नेतृ कार्कीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । काफ्ले भनेका छन्, ‘उर्मिला कार्कीले नेपाली कांग्रेसको संगठन निर्माण, लोकतान्त्रिक आन्दोलन र विशेष गरी दोलखामा महिला सशक्तीकरण तथा सामाजिक परिवर्तनका क्षेत्रमा पु¥याउनुभएको योगदान सधैँ स्मरणीय रहनेछ । उहाँको निधनबाट पार्टीले एक निष्ठावान्, लगनशील र जनप्रिय महिला नेतृत्व गुमाएको छभने दोलखाबासीले आफ्नो प्रिय अभिभावक गुमाएका छन् ।’

Published : Sunday, 2026 September 20, 10:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया