राजसंस्थासहित संविधान संशोधन गरौँ, संविधानकै त्रुटिले देश दुर्घटनातर्फ उन्मुख : नेता भण्डारी

काठमाडौं । नेपाली कांग्रेस सनातन हिन्दूराष्ट्र स्थापना महाअभियानका संयोजक एवम् पूर्वमन्त्री शंकर भण्डारीले कथित ११औँ संविधान दिवसका अवसरमा जनतामा कुनै उल्लास नदेखिएको बताएका छन् ।

शनिबार प्रेस विज्ञप्ति जारी गरेर संयोजक भण्डारीले भने, ‘न कुनै समर्थन । संविधानप्रति आम जनताको स्वामित्व वा समर्थन नरहे कै कारण जनतामा उल्लास र समर्थन नदेखिएको हो । आम जनताको स्वामित्व र समर्थन नरहे पछि टुँडिखेलमा सरकारी औपचारिक तामझाम गरेर संविधान दिवस मनाएर मात्र संविधानको औचित्य पुष्टि सक्दैन ।’

‘नेपालको यो चालु संविधान संविधानवादको सिद्धान्तबाट वनेको संविधान होइन भनेर भन्यौं भने अन्यथा हुँदैन,’ नेता भण्डारीले भने, ‘संविधान सभा नेपाली जनताले आँफैले मत दिएर गठन गरेको भए तापनि त्यो संविधान सभाले नेपाली जनताको भावना अनुसार संविधान दिन असमर्थ भयो ।’

‘संविधान निमाण गर्दा नेपाल राष्ट्र निर्माण गर्ने परम्परागत शक्ति राजसंस्थालाई षड्यन्त्र र धोकाबाट संविधान निर्माणको चरणबाट बाहिर राखियो,’ उनले भने, ‘वाह्य शक्तिको डिजाइन र इशारामा नेपाल राष्ट्र निर्माणको चरणदेखि नै देशको राष्ट्रियताको प्रमुख आधार बनेर रहेको राजसंस्थालाई वैधानिक रूपमा फ्याक्ने काम गर्‍यौं । त्यसै गरी विगत लामो परम्परादेखि नै हाम्रा वैदिक सनातन धर्म र संस्कृतिले सबै जाती र धर्म र संस्कृतिमा विश्वास राख्ने नेपालीहरू जनतालाई एक आपसमा जोडेर राष्ट्रियतालाई बलियो बनाउने काम गरेको थियो ।’

‘वाह्य शक्ति कै इशासामा नै राष्ट्रियताको यो दह्रो आधार स्तम्वलाई भत्काएर देशलाई जवरजस्तीसंग धर्म निरपेक्ष राष्ट्र घोषणा गरेर देशमा आपसी विभाजनको रेखा कोरेर राष्ट्रलाई कमजोर वनाउने काम पनि यो संविधानले गरेको छ,’ संयोजक भण्डारीले भने ।

‘संविधान सभाले नचिन्ने व्यक्ति संविधान घोषणा गर्दा हाबी देखिएका थिए भने स्वयम् संविधान सभाको अध्यक्षको भूमिका सन्दिग्न थियो,’ संयोजक भण्डारलिे भने, ‘राष्ट्रपतिले केही दिन ढिला गरेर आम सहमतिमा संविधान जारी गर्न सुझाउँदा राष्ट्रपतिको उपस्थिति विना नै संविधान जारी गर्ने दुष्प्रयास समेत हुँदै थियो । संविधानको प्रस्तावनादेखि धारा धारा देशहित विपरित विवादास्पद प्रावधान रहेका छन् ।’

‘संविधान निर्माणका क्रममा देशको सबैभन्दा जिम्मेदार पुरानो, जनताले भर गर्दै आएको दल, नेपाली कांग्रेस नै सबैभन्दा बढी चुकेको छ,’ उनले भने, ‘नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा संविधान जारी गरेको भनेर गौरव त गर्छ । संविधान निर्माण गर्दा सबैभन्दा ज्यादा राजनीतिक सम्झौता नेपाली कांग्रेसले गरेको छ, त्यसैको परिणाम आज कांग्रेस पतनको डिलमा आइपुगेको हो ।’

‘यो संविधान कै असफलता र त्रुटि कै कारण देश अकल्पनीय राजनीतिक दुर्घटनातर्फ उन्मुख छभन्ने हाम्रो ठहर रहेको छ,’ उनले भने, ‘अब कथित संविधान दिवसमा संविधानको कोरा गीत गाएर मात्र बस्ने बेला होइन । राजसंस्थासहित सबै राजनीतिक दल र शक्तिहरू एक ठाउँमा बसेर दलगत आग्रह र पूर्वाग्रहबाट माथि उठेर राष्ट्रियता र देशभक्तिको भावनालाई केन्द्रमा राखेर आम सहमतिमा व्यापक संविधान संशोधन वा नयाँ संविधान लेख्नु अहिलेको परम राष्ट्रिय आवश्यकता हो भन्ने हाम्रो ठहर छ ।’

पूर्वमन्त्री भण्डारीले भने, ‘देशको भू–राजनीतिक जटिलता र हाम्रो आफ्नो कमजोर अपरिपक्व राजनीतिले देश अकल्पनीय राजनीतिक दुर्घटनामा पर्न सक्ने गंभीर अवस्थालाई ध्यानमा राख्दै देशको सबै राष्ट्रिय राजनीतिक शक्ति गम्भीर बन्ने बेला हो । त्यस्तो दुःखद् राजनीतिक अवस्था आउनु पहिले राजसंस्था सहित देशका सबै राजनीतिक दल एक ठाउँमा वसेर राजनीतिक सहमतिको बाटो खोज्न हामी सबैमा सार्वजनिक रूपमा हार्दिक आह्वान गर्दछौं ।’

Published : Saturday, 2026 September 19, 10:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया