विशेषवालाको एकपक्षीय अधिवेशनमा सहभागी नहुन प्यूठान कांग्रेसका उपसभापति एवं केन्द्रीय प्रतिनिधिको अपील

बाग्दुला । नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशनका केन्द्रीय प्रतिनिधि एवम् नेपाली कांग्रेस प्यूठानका जिल्ला उप–सभापति ईश्वरसिंह विष्टले पार्टीको आन्तरिक कानूनी अस्पष्टता रहेका बेला एकपक्षीय रुपमा असोज ३ गते हुन लागेको अधिवेशनका कार्यक्रमहरूमा सहभागी नहुन अपील गरेका छन् ।

शुक्रबार उपसभापति विष्टले अपील जारी गरेर भने, ‘तसर्थ आन्तरिक कानूनी अस्पष्टता, असन्तुष्टि र विधिगत समस्याहरूको उचित समाधान नगरी एकपक्षीय रूपमा यही असोज ३ गतेदेखि आह्वान गरिएको अधिवेशनको प्रक्रियामा सहभागी नहुन सम्पूर्ण निष्ठावान् नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूमा हार्दिक अपील गर्दछु ।’

‘अधिवेशनको प्रक्रियासम्बन्धी उत्पन्न मतभिन्नताको समाधान संवाद, सहमति र विधिसम्मत प्रक्रियाबाट खोज्दै एकताबद्ध, सुदृढ र लोकतान्त्रिक कांग्रेस निर्माण गर्ने दिशामा सबै पक्ष जिम्मेवार ढंगले अघि बडुन् भन्ने अपेक्षा गर्दछु,’ केन्द्रीय प्रतिनिधि विष्टले भनेका छन् ।

नेपाली कांग्रेसको वर्तमान आन्तरिक परिस्थितिमा पार्टीको आधिकारिकता, विशेष महाधिवेशन तथा त्यससँग जोडिएका विभिन्न विषयमा कानूनी तथा संस्थागत प्रश्नहरू उठिरहेको विष्टले बताएका छन् ।

‘यस्तो संवेदनशील अवस्थामा पार्टीका सबै तहका अधिवेशनहरू विधि, विधान, कानूनी स्पष्टता, संवाद र सहमतिका आधारमा अघि बढ्नु आवश्यक छ,’ उनले भने ।

उनले राणा शासनदेखि राजतन्त्र र निरंकुशताविरुद्धको लोकतान्त्रिक संघर्षमा अग्रणी भूमिका निर्वाह गरेको नेपाली कांग्रेसले आफ्नै आन्तरिक मतभिन्नतालाई पनि लोकतान्त्रिक विधि र संवादबाटै समाधान गर्न सक्नुपर्ने बताएका छन् ।

‘आफ्नै अग्रज, नेता र सहयात्रीबीच अविश्वास र दुरी बढ्ने अवस्था लोकतान्त्रिक संस्कारअनुकूल हुन सक्दैन,’ उपसभापति विष्टले भनेका छन् ।

‘नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक यात्राको महत्वपूर्ण राजनीतिक शक्ति हो,’ उनले भने, ‘त्यसैले यसको आन्तरिक एकता, संस्थागत मर्यादा र लोकतान्त्रिक संस्कार स्वयं पार्टीका लागि मात्र होइन, नेपालको लोकतान्त्रिक अभ्यासका लागि समेत महत्वपूर्ण विषय हुन् ।’

यसैबीच, नेपाली कांग्रेस नौबहिनी गाउँपालिकाका सभापति देवीराम पुन मगरले तथाकथित विशेष महाधिवेशनबाट आएकाहरूले गर्न लागेको असोज ३ गतेको अधिवेशनमा भाग नलिने बताएका छन् । शुक्रबार नौबहिनी कांग्रेसका सभापति मगरले प्रेस विज्ञप्ति जारी गरेर भनेका छन्, ‘विषेश महाधिवेशनबाट आएकाले असोज ३ गतेबाट शुरू गर्न लागेको अधिवेशनमा म सहभागी हुँदैन ।’

‘१४औँ माहाधिवेशनबाट आएकाले असोज १५ गतेदेखि वडा अधिवेशन शुरू गरोका छन् । म २०८३/०६/०३ गतेको वडा अधिवेशनमा भाग लिन्न । दुई गुट भएको पार्टी मिलेर एकगुट भयो भने समावेश हुनेछु ।’

‘सर्वोच्च अदालतमा मुद्दा बिचाराधीन भएकोले अदालतबाट आधिकारिक कांग्रेस जसलाई दिन्छ त्यसैमा हामी सबै साथीहरूलाई समाहित हुन अनुरोध गर्दछु,’ पालिका सभापति मगरले भने ।

आफू असोज ३ गतेको अधिवेशनमा सहभागी नहुने भएपछि सभापति मगरले नेपाली कांग्रेस नौबहिनीको कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापतिलाई दिएका छन् ।

सभापति मगरले भदौ २३ र २४ गतेको जेनजी र जनजीको नाम लिएर अवसरीवादीहरूले देश जलाएर खरानी पारेको बताएका छन् । ‘नेपाली कांग्रेसका केही साथीहरूले पार्टीभित्र भाँडभैलो मच्चाउने काय भयो,’ मगरले भने, ‘मैले विशेष महाधिवेशनको लागि हस्ताक्षर गरेको होइन ।’

Published : Friday, 2026 September 18, 9:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया