केही साथीहरूले साथ छाडे पनि लोकतान्त्रिक मूल्य, मान्यता, विधि र परम्पराको रक्षा गर्न हामी अडिग छौं : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै नियमित प्रक्रियामार्फत् १५औँ महाधिवेशन गर्ने बताउँदै भ्रममा नपर्न देशभरिका नेता तथा कार्यकर्ताहरूलाई अनुरोध गरेका छन् ।

गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौंको शोभाभगवतीमा आयोजित माल्यार्पण कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले आठौँ, नवौँ र दशौँ महाधिवेशनको परम्परा जस्तै १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै नियमित प्रक्रियामार्फत १५औँ महाधिवेशन गर्ने बताएका हुन् ।

उनले आफ्नो पक्षका अरु नेताले जुनसुकै बाटो रोजे पनि वा साथ छोडे पनि पार्टीभित्र लोकतान्त्रिक मूल्य–मान्यता, विधि र परम्पराको रक्षा गर्न आफूहरू अडिग रहने बताए ।

विधान र नियम मिचेर, पद र सुविधाका लागि जबर्जस्ती आह्वान गर्न खोजिएको तथाकथित विशेष महाधिवेशन अलोकतान्त्रिक अभ्यास भएको नेता सिंहले बताए । उनले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक रहेको बताएका छन् ।

पार्टीको विधि, नियम र विधानलाई तोडमोड गरेर गरिने महाधिवेशनको सट्टा नियमित प्रक्रियाबाटै अगाडि बढ्नुपर्ने सिंहले बताए ।

उनले अदालतले कानूनी निरुपण गर्ने भए पनि राजनीतिक मुद्दाहरूको समाधान पार्टीको आन्तरिक लोकतान्त्रिक मूल्य र पद्धतिबाटै हुनुपर्ने बताएका छन् ।

२०४६ सालमा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २०५४ साल असोज २ गते निधन भएको थियो ।

Published : Friday, 2026 September 18, 12:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया