अधिवेशनका लागि खोटाङमा देउवा पक्षको सशक्त तयारी, रोजन राई संयोजक नियुक्त

खोटाङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न गर्ने तयारी तीव्र भइरहेका बेला खोटाङमा शेरबहादुर देउवा पक्षीय नेताहरूको तर्फबाट जिल्ला संयोजकको जिम्मेवारी रोजन राईले पाएका छन् ।

देउवा पक्षको तर्फबाट महाधिवेशन संयोजन गरिरहेका प्रा.डा.शशांक कोइरालाले बिहीबार राईलाई खोटाङ जिल्लाको संयोजकको जिम्मेवारी प्रदान गरेका हुन् । राईले जिल्लामा पार्टीको अधिवेशनसम्बन्धी समन्वय तथा आवश्यक संगठनात्मक कामको नेतृत्व गर्नेछन् ।

नेपाली कांग्रेस खोटाङका वर्तमान पार्टी प्रवक्ता तथा अनुशासन समिति संयोजकसमेत रहेका राई जिल्लामा प्रभावशाली नेताका रूपमा परिचित छन् । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा उदाएका राईले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दललगायतका भ्रातृ संगठनमा केन्द्रीय नेतृत्वको जिम्मेवारी सम्हालिसकेका छन् । उनी १२औँ महाधिवेशनकै क्रममा केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत बनेका थिए ।

राई देउवा पक्षमा खुलेर जिम्मेवारीमा आउनुलाई खोटाङ कांग्रेसभित्र अर्थपूर्ण रूपमा हेरिएको छ । स्थानीय कांग्रेस नेताकार्यकर्ताका अनुसार राईको साथ इतर पक्षमा रहनुले खोटाङमा गगन थापा पक्षको संगठनात्मक समीकरणमा प्रभाव पार्न सक्ने देखिन्छ । यसलाई लिएर पार्टीभित्र फरक–फरक राजनीतिक विश्लेषणसमेत भइरहेका छन् ।

यसैबीच, कोशी प्रदेशका महामन्त्री तथा पूर्वमन्त्री भूपेन्द्र राईले पनि खोटाङमा देउवा पक्षलाई साथ दिएका छन् । भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्रीका रूपमा रहँदा भूपेन्द्र राईले जिल्लामा गरेको विकास निर्माण तथा जनमुखी कामलाई कार्यकर्ता तथा स्थानीयवासीले सकारात्मक रूपमा लिने गरेको कांग्रेस नेताहरूको भनाइ छ ।

रोजन राई र भूपेन्द्र राई दुवैको साथ देउवा पक्षमा देखिएपछि आगामी १५औँ महाधिवेशनका लागि खोटाङ कांग्रेसभित्रको राजनीतिक समीकरण थप रोचक बनेको छ । अब जिल्ला अधिवेशनको तयारी, प्रतिनिधि चयन र नेतृत्वका लागि हुने आन्तरिक प्रतिस्पर्धाले खोटाङ कांग्रेसको आगामी शक्ति–सन्तुलन निर्धारण गर्ने देखिन्छ ।

Published : Thursday, 2026 September 17, 11:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया