तरुण शक्ति पार्टीको मेरुदण्ड हो, परिचालन गर्न सके कांग्रेस झन् बलियो हुन्छ : उपसभापति लामा

चौतारा । नेपाली कांग्रेस सिन्धुपाल्चोकका जिल्ला उपसभापति दोर्जे लामा (हाउडे)ले कांग्रेसको १५औँ महाधिवेशनलाई संगठन सुदृढीकरण र कार्यकर्ताबीचको एकता मजबुत बनाउने अवसरका रूपमा लिनुपर्ने बताएका छन् ।

बुधबार बसेको नेपाल तरुण दल सिन्धुपाल्चोकको जिल्ला कार्यसमिति बैठकमा निर्देशन दिँदै उपसभापति लामाले पार्टीको महाधिवेशन केवल नेतृत्व चयन गर्ने प्रक्रियामा सीमित नभई संगठनलाई थप व्यवस्थित, गतिशील र जनमुखी बनाउने महत्वपूर्ण अवसर भएको बताए ।

‘महाधिवेशनलाई व्यवस्थित र मर्यादित ढंगले सम्पन्न गर्न सबै तहका नेता तथा कार्यकर्ता जिम्मेवार भएर अघि बढ्नुपर्छ,’ उपसभापति लामाले भने, ‘पार्टीभित्रको एकता, संगठनको अनुशासन र कार्यकर्ताको भावनालाई केन्द्रमा राखेर आगामी यात्रा तय गर्न आवश्यक छ ।’

लामाले युवाहरूलाई पार्टी संगठनमा थप सक्रिय बनाउँदै नयाँ पुस्तालाई नेतृत्व विकासको अवसर दिनुपर्ने बताएका छन् । ‘तरुण शक्ति पार्टीको मेरुदण्ड हो । युवाको ऊर्जा, क्षमता र सिर्जनशीलतालाई संगठन निर्माणमा सही ढंगले परिचालन गर्न सके पार्टी अझ बलियो बन्न सक्छ,’ उपसभापति लामाले भने ।

नेपाल तरुण दल सिन्धुपाल्चोक जिल्ला कार्यसमितिको बैठक बसेको छ । जिल्ला अध्यक्ष संजय लामाको अध्यक्षतामा सम्पन्न बैठकमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनसँग सम्बन्धित विषय, जिल्लाको सांगठनिक अवस्था तथा आगामी राजनीतिक गतिविधिबारे छलफल गरिएको तरुण नेता निशान लामा योञ्जनले बताएका छन् ।

तरुण दलको बैठकमा १५औँ महाधिवेशनको तयारी, जिल्लामा पार्टी संगठनको अवस्था, तरुण दलको भूमिका तथा आगामी कार्यक्रमका विषयमा समेत छलफल भएको तरुण नेता योञ्जनले बताए ।

बैठकले संगठनलाई थप चलायमान बनाउँदै जिल्लाका सबै तहमा समन्वय र सहकार्य बढाउने तथा महाधिवेशनलाई लक्षित गर्दै आवश्यक तयारी अघि बढाउने विषयमा जोड दिएको कांग्रेसका युवा नेता समेत रहेका तरुण नेता योञ्जनले बताएका छन् ।

Published : Wednesday, 2026 September 16, 10:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया