सम्वाद, सहमतिलाई मूलमन्त्री मानेर महाधिवेशनमा सहभागी हुन बागमती कांग्रेसद्वारा अपील

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सम्वाद, सहमति, सहकार्य र एकतालाई मूलमन्त्री मानेर १५औँ महाधिवेशनमा सहभागी हुन अपील गरेको छ ।

मंगलबार काठमाडौंमा बसेको बागमती कांग्रेसको कार्यसम्पादन समितिले महाधिवेशनलाई भव्यरुपमा सफल बनाउन आह्वान गरेको हो । ‘संवाद, सहमति, सहकार्य र एकतालाई मूलमन्त्र मानी हार्दिकताको वातावरणमा यस महाधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न महाधिवेशनको प्रक्रियामा उत्साहपूर्ण रुपमा सहभागी हुन प्रदेश कार्यसमितिका साथीहरू, बागमती प्रदेशका १३ जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, पालिका कार्यसमिति, वडा तथा टोल कार्यसमितिहरूमा आवद्ध क्रियाशील, समर्थक तथा शुभेच्छुक साथीहरूलाई नेपाली कांग्रेस बागमती प्रदेश हार्दिक अपील गर्दछ,’ सभापति इन्द्रबहादुर बानियाँले भने ।

प्रवक्ता तिलकप्रसाद रुवालीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसको २०८३ असोज १६ देखि १९ सम्म हुने १५औँ महाधिवेशन असोज ३ र ४ गतेबाट शुरु हुँदैछ ।’

‘२०८३ भाद्र १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट र धादिङ्गमा ठूलो धनजनको क्षति भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘चितवन, गोरखा, तनहुँ र नवलपुर, नवलपरासी समेत प्रभावित बनेको छ ।’

‘बाढीबाट हजारौं नागरिक घरवार विहीन भएको अवस्था छ । बाढीबाट प्रभावित घरवार विहीनहरूका लागि अस्थायी तथा स्थायी पुर्नवास, खाना, लत्ताकपडा, जीविकोपार्जन तथा मनोपरामर्शको व्यवस्था गर्न संघीय, बागमती प्रदेश र स्थानीय समेत तीनै तहको सरकारसँग अनुरोध गरिन्छ,’ सभापति बानियाँले भने ।

‘बाढीबाट वेपत्ता भएका स्वदेशी तथा विदेशी नागरिकहरूको खोजी कार्यलाई तिव्रता दिई बेपत्ता भएकाहरूलाई शीघ्रातिशीघ्र घर फर्कने वातावरण तयार गर्न तथा यस्तो विषम पस्थितिमा उपचाररत घाइते बिरामीहरूको निःशुल्क उपचारको व्यवस्था गर्न नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति संघीय, बागमती प्रदेश र स्थानीय समेत तीनै तहको सरकारसँग अनुरोध गर्दछ,’ बागमती कांग्रेसले भनेको छ ।

‘बाढीबाट प्रभावित जिल्लाहरू रसुवा, धादिङ्ग, नुवाकोटका नागरिकहरूलाई त्रिशुली नदी वारपार गर्न सहज वातावरण निर्माण गर्न यथाशीघ्र वैकल्पिक बाटो निर्माण, भोलुङ्गे पुल र बेली ब्रिज निर्माण गर्ने कार्य तत्काल अगाडि बढाई दशैँ अगाडि नै निर्माण सम्पन्न गरी संचालनमा ल्याउन संघीय तथा वागमती प्रदेश सरकारसँग अनुरोध गर्दछ,’ सभापति बानियाँले भने ।

‘रसुवाको भोटेकोशी नदीमा अप्रत्याशित रुपमा आएको अकल्पनीय प्राकृतिक बिपत्तिका कारण ठूलो सँख्यामा दिवंगत हुनु भएका स्वदेशी तथा विदेशी नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकमा रहनुभएका परिवारजन र आफन्तहरूमा नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति गहिरो समवेदना व्यक्त गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

Published : Tuesday, 2026 September 15, 10:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया