गरुड क्यासिनामा काठमाडौं प्रहरीद्वारा छापा

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले गरुड क्यासिनामो छापामारेर ११ जनालाई पक्राउ गरेको छ ।

क्यासिनोमा नेपाली नागरिक प्रवेश गराई जुवा तास खेल्ने खेलाउने कार्यमा संलग्न ११ जनालाई मंगलबार २ बजे पक्राउ गरिएको प्रहरी उपरीक्षक दानबहादुर थापाले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिका– १ तौलुडस्थित गरुड क्यासिनोमा नेपाली नागरिक प्रवेश गराई जुवा तास खेलाइरहेको सूचनाका आधारमा प्रहरीले छापामारेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको संयुक्त प्रहरी टोलीले गरुड क्यासिनोमा छापामार्दा क्वाइनमा नगद सटही गरी हारजित हुने गरी जुवा तास खेलिरहेको अवस्थामा मोबाइल थान ९, नगद सटही गर्न प्रयोग हुने क्वाईन पचास हजार लेखिएको क्वाइन थान ८, दश हजार लेखिएको क्वाइन थान १९, एक हजार लेखिएको क्वाइन थान ८८, एक सय लेखिएको क्वाइन थान ५ र नेपाली नगद १० लाख ८५ हजार ६ सय रुपियाँसहित पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ । जुवा सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दुई दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको छ ।

पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–६ घर भई काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका– ४ थली बस्ने वर्ष ३४ को बिकी लामा, सोलुखुम्बुको माकालुड गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने वर्ष ३९ को नुवाड शेर्पा, सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–६ घर भई गोकर्णेश्वर नगरपालिका–९ बस्ने वर्ष ३९ को पाशाङ शेर्पा, सिन्धुलीको गोलञ्जर गाउँपालिका–५ घर भई कागेश्वरी मनहरा नगरपालिका–७ बस्ने बर्ष ३२ को ज्योति मगर, दोलखाको वैतेश्वर गाउँपालिका–८ घर भई काठमाडौंको बानेश्वर बस्ने वर्ष ३५ को नारायण खत्री रहेका छन् ।

गोकर्णेश्वर नगरपालिका–२ घर भएका बर्ष ४४ को दिल लामा, काभ्रेको रोशी गाउँपालिका–१ घर भई काठमाडौं ठमेल बस्ने बर्ष ४४ को अशोक लामा, नुवाकोटको दुप्चेश्वर गाउँपालिका–३ घर भई गोकर्णेश्वर नगरपालिका–५ बस्ने बर्ष ३२ को संजय तामाङ, रामेछापको उमाकुण्ड गाउँपालिका– ४ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–३ बस्ने बर्ष ४० को आषिश खडका, ललितपुर महानगरपालिका–६ बस्ने बर्ष ४९ को सविनमान श्रेष्ठ र धनकुटाको जोरपाटी गाउँपालिका–४ घर भई काठमाडौंको पेप्सीकोला बस्ने बर्ष ३० को सुदीप अधिकारी रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Published : Tuesday, 2026 September 15, 12:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया