हस्ताक्षर सनाखत भएको छैन, विधान विपरीत छ, गगनजीको बोलीको ठेगान छैन : मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले गगन थापालाई चटक देखाउनेहरूको जमातको संज्ञा दिएका छन् ।

सोमबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै नेता बस्नेतले भने, ‘चटक देखाएर काम गर्ने जमात शुरुदेखि नै थिए । अहिले पनि चटक देखाइ राखेका छन् ।’

‘तपाईहरूको १९ जनाको माग पूरा ग¥यौँ भन्ने । १९ जनालाई केन्द्रीय सदस्य बनायौँ हामीले भने । हामीसँग कसैको छलफल भएको छैन,’ नेता बस्नेतले भने ।

शेरबहादुर देउवा पक्षीय नेताहरू गगन थापातिर लागे नि भन्ने प्रश्नको जिज्ञासामा नेता बस्नेतले भने, ‘ठूलो पार्टी छ । के कता जालान् भन्नेछ । कसलाई कहाँ मन लाग्ला ? कसलाई कहाँ स्वाद लाग्ला ? कसलाई कहाँ सहज होला ? त्यो आफ्नो कुरा भयो ।’

नेता बस्नेतले तथाकथित विशेष महाधिवेशन पार्टीको विधान विपरीत रहेको बताए । उनले विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्रै रहेको भन्दै हस्ताक्षरको सनाखत पनि नभएको बताएका छन् ।

‘नेपाली कांग्रेस जस्तो पार्टीमा विधान विपरीत विशेष महाधिवेशनको नाममा, सहि गर्ने महाधिवेशन प्रतिनिधिहरूको सिग्नेचर भेरिफाइ पनि भएको छैन,’ बस्नेतले भने, ‘हाम्रो विधानले केन्द्रीय कार्यसमितिले नै निर्णय नगरिकन सभापतिले समेत विशेष महाधिवेशन बोलाउन सक्नु हुन्न । बोलाउँदा कार्यसमिति नै बोलाउनु पर्छ । त्यो विधान विपरीत भएको थियो ।’

‘हामीले यो कुरा भन्दै आयौँ । अहिले पनि मिलाएर जाने कुरामा गगनजीलाई हामी सभापति मान्न तयार छौँ । तर, ५/७ वटा कुरा मानेर जानुस् ।
क्रियाशील सदस्यता अपमानित ढंगले ८०/८५ वर्षका मान्छेहरूलाई पनि हामी चिन्दैनौँ जान्दैनौँ हामीले भने जस्तो अध्यावधि गर्ने भए गर नत्र नदिने भनेर हिँडे,’ नेता बस्नेतले भने ।

गगन थापाहरूको बोलीको ठेगान नरहेको बस्नेतले बताएका छन् । ‘उहाँहरूको कुराको पनि ठेगान छैन । गगनजीले अस्तिको दिनमा एक मिनट सर्दैन, हामी तलमाथि हुँदैनौँ, हामी अब गर्दैनौँ भन्नुहुन्थ्यो । जब त्यहाँ संख्या कमजोर हुँदै गयो, उहाँहरूको पक्ष कमजोर हुन थाल्यो, अनि त्यो दिन पनि सार्दै जाने, अध्यावधि गर्दै जाने समय पनि सार्दै जाने, आफ्नै ढंगले यो माग हो यसलाई सम्बोधन गर्ने भने जस्तो गरेर नाटकीय ढंगले अहिले जस्तै सबै केन्द्रीय सदस्यहरूलाई लिइदिन्छौँ वा पुससम्म क्रियाशील सदस्यता नवीकरण गर्नेलाई हामी मानिदिन्छौँ यस्तो भन्दै जानु भएको छ । यो सबै नाटक देखाएको हो,’ नेता बस्नेतले भने ।

‘हामी पनि अगाडि बढ्छौँ भन्ने उहाँले थाहा पाउनुभयो । हाम्रो मुद्दा अदालतमा विचाराधीन छ । विचाराधीन भएपछि धेरै कुरा गर्ने विषय पनि थिएन,’ बस्नेतले भने, ‘उहाँहरू आएर सम्बन्धित व्यक्ति वा नेताहरूसँग छलफल गरे गएको भए यो समस्या समाधान हुने थियो । त्यसका लागि हामीले पनि लामो समय पर्खिएको हो ।’

‘उहाँहरूले नाटकीय ढंगले कुरा गर्ने भएकोले कुरा मिलेको छैन । हामी आफ्नो तयारीमा लागेका छौँ । को कहाँ जानु होला, को कहाँ आउनु होला त्यो अधिवेशनसम्म हेर्दै जाऔँ । भविष्यले देखाउनेछ,’ नेता बस्नेतले भनेका छन् ।

पूर्णबहादुर खड्काका विषयमा सोधिएको जिज्ञासाको जवाफमा नेता बस्नेतले भने, ‘प्रज्ञा भवनको कार्यक्रममा पूर्णबहादुर खड्काज्यूले म गगन थापासँग मिल्न सानेपा जान्न, मर्न तयार छु, म त्यहाँ जान्न भनेर भाषण गर्नुभएको छ । उहाँलाई नै सोध्नुस् ।’

डा.शेखर कोइरालाको समर्थन कसलाई रहन्छ ? भन्ने जवाफमा नेता बस्नेतले भने, ‘डा.शेखर कोइरालाको विषय उहाँले मिलाएर जाने हो भएन भने शशांक डाक्टर साबलाई सहयोग गर्ने पक्षमा हुनुहुन्छ । भेटघाट र छलफल भइरहेको छ । उहाँका प्रतिनिधिहरू आइरहनु भएको छ ।’

Published : Monday, 2026 September 14, 10:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया