सह–महासचिव शर्माद्वारा राष्ट्रिय मुक्ति पार्टी परित्याग

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपाल (रामुपा नेपाल)का सह–महासचिव कौशलेन्द्र शर्माले पार्टी परित्याग गर्दै सबै पदबाट राजीनामा दिएका छन् ।

शुक्रबार पार्टी अध्यक्षलाई सम्बोधन गरेर शर्माले राजीनामा बुझाएका हुन् । राजीनामा पत्रमा शर्माले भनेका छन्, ‘देशको पछिल्लो राजनीतिक परिस्थितिलाई गम्भीरतापूर्वक नियाल्दै तथा वर्तमान आवश्यकता र आफ्नो राजनीतिक भूमिकाबारे गहन आत्मसमीक्षा गर्दै राष्ट्रिय मुक्ति पार्टी नेपालको सह–महासचिव लगायत मैले सम्हाल्दै आएका सम्पूर्ण जिम्मेवारी वाट पार्टीको साधारण सदस्यसमेत नरहने गरी आजकै मितिदेखि राजीनामा दिएको जानकारी गराउँदछु ।’

‘पार्टीभित्र पटक–पटक पुस्तान्तरण र युवा नेतृत्वको विषय उठाउँदै आए पनि त्यसअनुकूल वातावरण निर्माण हुन नसकेको मेरो बुझाइ रह्यो,’ शर्माले भने, ‘युवाहरूको चाहना र देशको आवश्यकतालाई ध्यानमा राख्दै अब नयाँ ढंगबाट युवा नेतृत्वलाई अगाडि बढाउनैपर्ने विषयमा म स्पष्ट भएको छु ।’

शर्माले भने, ‘मधेशको राजनीतिक, सामाजिक र आर्थिक अवस्थालाई नजिकबाट नियाल्दा मधेश लामो समयदेखि उत्पीडन, विभेद र उपेक्षाको सामना गर्दै आएको यथार्थ अझै समाप्त भएको छैन । मधेशले पहिचानका सवालमा उपलब्धि हासिल गरे पनि आफ्ना अधिकार र पहिचानसँग सम्बन्धित धेरै विषयहरू अझै अधुरा छन् । मधेशी जनता अझै पनि पूर्ण रूपमा अधिकारसम्पन्न हुन सकेका छैनन् । महिला उत्पीडन तथा विभेद कायम नै छ ।’

‘संघीयता कमजोर हुँदै गएको वर्तमान परिस्थितिमा मधेसका मुद्दालाई बलियो रूपमा स्थापित गर्न, युवाहरूलाई मूल राजनीतिमा सक्रिय रूपमा ल्याउन तथा उनीहरूलाई राजनीतिक नेतृत्वको अवसर प्रदान गर्न छुट्टै अभियान र नयाँ राजनीतिक गतिविधिको आवश्यकता मैले महसुस गरेको छु,’ शर्माले राजीनामा पत्रमा भनेका छन् ।

‘यसै उद्देश्यले मधेशलाई केन्द्रमा राख्दै युवाहरूलाई राजनीतिमा जोड्ने, उनीहरूलाई मूलधारमा स्थापित गर्ने र युवाहरूकै नेतृत्वमा मधेसको पहिचान, अधिकार तथा समग्र विकासका सवाललाई अगाडि बढाउने उद्देश्यसहित एउटा नयाँ राजनीतिक आयामको सुरुवात गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेको छु । यसै क्रममा म हुँकार मधेश अभियानमा जोडिएको विषय यहाँलाई विदितै छ,’ शर्माले भने ।

‘देशमा एउटा मजबुत राजनीतिक शक्ति तथा युवाहरूको नेतृत्वमा एउटा सशक्त राजनीतिक पार्टी निर्माण गर्नुपर्ने आवश्यकतामा पनि म स्पष्ट छु,’ शर्माले भने, ‘अब मेरो राजनीतिक यात्रा फरक अभियान र फरक राजनीतिक शक्तिको निर्माणतर्फ अगाडि बढिसकेको अवस्थामा राष्ट्रिय मुक्ति पार्टी नेपालको सह–महासचिव पदमा निरन्तर रहिरहनु राजनीतिक तथा नैतिक दुवै दृष्टिले उचित नहुने महसुस गरेको छु ।’

‘त्यसैले, आजको मितिदेखि राष्ट्रिय मुक्ति पार्टी नेपालको सह–महासचिव लगायत मैले सम्हाल्दै आएका सम्पूर्ण जिम्मेवारीबाट पार्टीको साधारण सदस्यसमेत नरहने गरी आफ्नो राजीनामा पेश गर्दछु,’ शर्माले भने ।

‘मेरो यो निर्णय व्यक्तिगत स्वार्थ वा कुनै व्यक्तिप्रतिको असन्तुष्टिका कारण नभई वर्तमान राजनीतिक आवश्यकता, युवाको आकांक्षा तथा मधेस र देशको भविष्यलाई केन्द्रमा राखेर लिइएको राजनीतिक निर्णय हो,’ उनले भनेका छन् ।

Published : Friday, 2026 September 11, 11:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया