काठमाडौं महानगरका इञ्जिनियर, पत्नी र आफन्तविरुद्ध अख्तियारद्वारा साढे ४ करोडको भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका तत्कालीन इञ्जिनियर रामबाबु महतो कोइरीसहित उनको परिवार तथा आफन्तविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरी शुद्धीकरण गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
शुक्रबार विशेष अदालत, काठमाडौंमा अख्तियारले कोइरी र उनको परिवार तथा आफन्तविरुद्ध कुल ४ करोड ४८ लाख ७९ हजार ८४१ रुपियाँ बिगो कायम गरी दोब्बर जरिवाना, कैद सजाय र सम्पत्ति जफतको मागदाबी गर्दै आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रतिवादी इन्जिनियर कोइरीले भ्रष्टाचार गरी कमाएको धनलाई शुद्धीकरण गर्न चरणबद्ध रूपमा अवैध कामहरू गरेको आरोप छ ।
पहिलो चरणमा भ्रष्टाचारबाट कमाएको गैरकानूनी नगद रकमलाई शुद्धीकरण प्रक्रियामा लैजानका लागि इन्जिनियर कोइरीले आफ्ना साथै आफ्नी साली रीना कुशवाहा र साढुभाइ कृष्णप्रसाद मेहताका नाममा रहेका बैंक तथा सहकारीका खाताहरू प्रयोग गरी रकम जम्मा गराएका थिए ।
दोस्रो चरणमा प्राप्त रकमको वास्तविक स्रोत लुकाउन र कारोबारलाई जटिल बनाउनका लागि उनले श्रीमती मालाकुमारी महतो, साली र साढुभाइमार्फत् जग्गा खरिदमा लगानी गरेका थिए ।
जग्गा खरिद गर्दा वास्तविक मूल्यभन्दा कम थैली (कागजी मूल्य) कायम गरी बाँकी भुक्तानी नगद र बैंक चेक मिश्रित रूपमा भुक्तानी गरेका थिए ।
कारोबारलाई फरक–फरक ढाँचामा देखाउनका लागि सहकारी ऋण, बैंक कर्जा र बैनाबट्टाका कागजपत्रहरूसमेत प्रयोग गरेका थिए ।
तेस्रो चरणमा गैरकानूनी रकमबाट खरिद गरिएको जग्गालाई कानूनी रूपमा वैध सम्पत्तिको रूपमा देखाएका थिए । सोही रकमलाई बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेप (फिक्स डिपोजिट)मा राखी प्राप्त भएको ब्याजलाई आम्दानीको वैधानिक स्रोत भनेर झूटा दाबी प्रस्तुत गरेका थिए ।
इञ्जिनियर कोइरीले आफ्नो सम्पत्ति विवरणमा समेत सोही अनुसार उल्लेख गरी गैरकानूनी रूपमा कमाएको सम्पूर्ण सम्पत्तिको स्रोत, स्वरूप र स्वामित्व परिवर्तन गर्दै लुकाउने र छल्ने काम गरेका थिए ।
यस प्रक्रियामा इन्जिनियर कोइरीकी श्रीमती मालाकुमारी महतोलाई भ्रष्टाचारको अवैध कमाई हो भन्ने थाहा पाउँदापाउँदै पनि सम्पत्ति आफ्नो नाममा राखी शुद्धीकरणमा प्रत्यक्ष संलग्न भएको देखिन्छ ।
उनकी साली रिना कुशवाहा र साढुभाइ कृष्णप्रसाद मेहताले जग्गा खरिद तथा कारोबारमा मतियार (सहयोगी) भई काम गरेको पुष्टि भएकाले उनीहरू सबैविरुद्ध सजाय र सम्पत्ति जफतको मागदाबी लिइएको आयोगले जनाएको छ ।
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया