कांग्रेसको महाधिवेशन दशैँपछि सम्पन्न हुने गरी मिति परिवर्तन गर्न प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले विपत्तिको यो घडीमा नेपाली कांग्रेसले महाधिवेशनभन्दा माथि उठेर देश र जनताको पीडालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा कांग्रेसका सम्पर्क समितिका सभापतिहरूसँगको छलफलमा नेता महरले भोटेकोशीलगायत देशका विभिन्न क्षेत्रमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति हुनुका साथै वर्षायामका कारण अधिकांश सडक तथा यातायातका मार्ग अवरुद्ध रहेको अवस्थामा १५औँ महाधिवेशन केही समय पछि सारेर भए पनि पार्टीभित्र समग्र एकता निर्माण गर्नुपर्ने बताएका हुन् ।

महरले भने, ‘आज हजारौँ नेपाली नागरिक विपत्तिमा छन्। कतै घर बगेका छन्, कतै परिवारले आफन्त गुमाएका छन्, कतै गाउँ नै सडक सञ्जालबाट विच्छेद भएको छ । यस्तो संवेदनशील अवस्थामा कांग्रेसको सम्पूर्ण ध्यान महाधिवेशनको जोड–घटाउमा होइन, पीडित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा केन्द्रित हुनुपर्छ ।’

रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढी तथा पहिरोले जनजीवन नराम्ररी प्रभावित भएको उनले बताए । विपत्तिको समयमा राजनीतिक दलको वास्तविक परीक्षा हुने महरले बताए ।

नेता महरले महाधिवेशनलाई अनिश्चितकालसम्म सार्ने नभई दशैँपछि सम्पन्न हुने गरी केही समयका लागि मिति परिवर्तन गर्न सकिने गरि प्रस्ताव अघि सारेका छन् ।

यसले एकातर्फ विपत्तिमा परेका नागरिकलाई राहत तथा पुनस्र्थापनामा कांग्रेसलाई प्रभावकारी रूपमा परिचालन गर्न सकिने र अर्कोतर्फ पार्टीभित्र देखिएका असन्तुष्टि, दूरी र विभाजनलाई संवादमार्फत सम्बोधन गर्दै बृहत् एकताको वातावरण निर्माण गर्न पर्याप्त समय मिल्ने उनले बताए ।

Published : Friday, 2026 September 11, 2:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया