धनौजी सडक निर्माणमा कामै नगरी २४ लाख घोटाला, अख्तियारद्वारा ९ जनासहित २ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको धनौजी गाउँपालिका–२ स्थित गौरदाहादेखि लखौरीसम्म सडक निर्माणमा कामै नगरी रकम भुक्तानी गरेको आरोपमा ९ जना तथा दुई कम्पनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
बिहीबार अख्तियारले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । आर्थिक वर्ष २०७८÷७९ मा प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रमअन्तर्गत सडक निर्माणका लागि छुट्याइएको रकममा अनियमितता भएको उजुरीमाथि अनुसन्धान गर्दा कामै नगरी झुट्टा प्राविधिक बिल, नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार गरी २४ लाख १५ हजार १२० रूपियाँ भुक्तानी गरेको पाइएको अख्तियारले जनाएको छ ।
धनौजी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीसहितका कर्मचारी, साइन कन्ट्रक्सनका प्रोप्राइटर विकासप्रसाद यादव तथा एसकेवाइ इन्जिनियरिङ एण्ड ट्रेडिङ प्रालिका प्रोप्राइटर रामनारायण साह र असिस्टेन्ट सबइन्जिनियर शुभाषकुमार महरासमेतको मिलेमतोमा सडक निर्माणको काम नगरी रकम भुक्तानी गरेको देखिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सडक निर्माणको ठेक्कासम्बन्धी सूचना राष्ट्रिय दैनिकमा प्रकाशित गर्नुपर्नेमा सूचना लुकाउने उद्देश्यले जनकपुर टुडे राष्ट्रिय दैनिकमा एक प्रति पत्रिकामा मात्रै सूचना प्रकाशन गरेको देखिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
उक्त पत्रिकाको एकप्रति गाउँपालिकामा पेस गरी २ लाख ४९ हजार ५०४ रूपियाँ भुक्तानी दिएको र लिएको अख्तियारले जनाएको छ ।
अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरी र लेखापाल राधेश्याम रायविरुद्ध जनही २६ लाख ६४ हजार ६२४ रूपियाँ बिगो कायम गरेको छ ।
खरिदार अरूणकुमार यादव, सि.अ.हे.व. उमेर साह र तत्कालीन शिक्षा शाखा प्रमुख अनिलकुमार साहुविरुद्ध जनही २४ लाख १५ हजार १२० रुपियाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।
अमृत मिडिया प्रालि तथा त्यसका प्रोप्राइटर राजेन्द्र यादव र जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. तथा जनकपुर टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक बृजकुमार यादवविरुद्ध जनही २ लाख ४९ हजार ५०४ रूपियाँ बिगो कायम गरिएको छ ।
साइन कन्ट्रक्सन तथा त्यसका प्रोप्राइटर विकासप्रसाद यादवविरुद्ध २४ लाख १५ हजार १२० रूपियाँ र एसकेवाई इन्जिनियरिङ एण्ड ट्रेडिङ प्रालि, त्यसका प्रोप्राइटर रामनारायण साह तथा असिस्टेन्ट सबइन्जिनियर शुभाषकुमार महराविरुद्ध २४ लाख १५ हजार १२० रूपियाँ बिगो कायम गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८, ९, १९ तथा २२ बमोजिम कैद, बिगोबमोजिम जरिवाना र बिगो असुलउपरको मागदाबी गर्दै आरोपपत्र दायर गरेको प्रवक्ता न्यौपानेले जनाएका छन् ।
बिचार/ब्लग
‘विदेशी–जासुसी विद्रोह’को वर्षगाँठ
रविन्द मिश्र
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया