कांग्रेस निकट क्यानडाको जनसम्पर्क समितिको निर्वाचन प्रक्रिया शुरू, ५ बर्ष कारबाहीमा परेका अन्तरघातीलाई मान्दै नमान्ने

काठमाडौं । नेपाली जनम्पर्क समितिले स्थगित भएको निर्वाचन प्रक्रिया पुनः सुचारु गर्न प्रमुख निर्वाचन आयुक्त तथा वरिष्ठ अधिवक्ता अतुल सुवेदी र दुई सदस्यहरूलाई पत्राचार गरेको छ ।

समितिका सभापति बुद्धिप्रकाश ओली र महामन्त्री सुशील भुसालले संयुक्त रुपमा पत्र पठाएर प्रमुख निर्वाचन आयुक्त सुवेदी, आयुक्तद्वय शैलेन्द्र चापागाईं र जगत पन्थलाई स्थगित भएको निर्वाचन प्रक्रिया पुनः सुचारु गर्न अनुरोध गरेका हुन् ।

नेपाली कांग्रेसका भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति क्यानडाको ४ सेप्टेम्बर २०२६ मा बसेको बैठकले स्थगित निर्वाचन प्रक्रिया पुनः सुचारु गर्ने निर्णय भएको थियो ।

‘नेपाली जनसम्पर्क समिति क्यानडाको मिति ४ सेप्टेम्बर २०२६ मा बसेको बैठकको निर्णय नं. ४ अनुसार हाल स्थगित रहेको निर्वाचन प्रक्रिया पुनः सुचारु गरी बाँकी सम्पूर्ण निर्वाचनसम्बन्धी कार्यहरू अगाडि बढाउन निर्वाचन समितिलाई अनुरोध गर्ने निर्णय भएको छ ।’

‘उक्त निर्णयबमोजिम निर्वाचन प्रक्रिया पुनः सुचारु गरी आवश्यक कार्यहरू अगाडि बढाइदिनुहुन सादर अनुरोध गर्दछौँ,’ पत्रमा भनिएको छ, ‘बाँकी निर्वाचन प्रक्रिया व्यवस्थित रूपमा सम्पन्न गर्न अद्यावधिक निर्वाचन कार्यतालिका यथाशीघ्र सार्वजनिक गरिदिनुहुन समेत अनुरोध गर्दछौँ ।’

नेपाली जनसम्पर्क समिति क्यानडाले नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपाको निर्देशनअनुसार अधिवेशनको कार्यक्रम गर्दै आएको छ । यद्यपि, केही तत्वले अनुशासनको कारबाहीमा परेका व्यक्तिलाई विधान बिपरीत अबैधानिक रुपमा संयोजक बनाएपछि विवाद उत्पन्न भएको थियो ।

नेपाली जनसम्पर्क समिति क्यानडाको सिङ्गो कार्यसमितिले अनुशासनको कारबाहीमा परेका अन्तरघातीलाई अस्वीकार गर्दै सानेपाको निर्णय खारेज गरिदिएको थियो । सानेपाले ५ बर्षको अनुशासनको कारबाहीमा परेका अन्तरघाती केशव दाहाललाई चौथो अधिवेशन गर्न संयोजक बनाएको थियो ।

Published : Thursday, 2026 September 10, 1:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया