प्रमुख प्रतिपक्ष भएर सरकारको गलत कुराको भजन गाउने गगन–विश्वजी हुतिहारा हुन् : कांग्रेस नेता बस्नेत

भक्तपुर । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सरकारको गलत कामको पनि भजन गाएर हिँडेको भन्दै गगन थापा र विश्वप्रकाश शर्मालाई हुतिहारा भनेर आलोचना गरेका छन् ।

बुधबार राधेराधेमा नेपाली कांग्रेस भक्तपुरले ११३औँ वीपी जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले प्रमुख प्रतिपक्ष दलले जब सरकारको गलत कामको पनि भजन गाएर हिँड्छ तब त्यो दल समाप्त भएर जान्छ भनेर टिप्पणी गरेका छन् । उनले गगन र विश्वप्रकाशमा कुनै दम नरहेको भन्दै हुतिहाराको संज्ञा दिएका छन् ।

नेता बस्नेतले भने, ‘गगन थापाजीले अहिले सरकारको भजन गाउने बाहेक अरु काम केही गरिरहेका छैनन् । यस्तो पनि प्रमुख प्रतिपक्ष दल हुन सक्छ ? हुतिहाराहरू ।’

‘हुन त हामीलाई थाहा छ । जेनजीहरूको यो घटनापछि सबैभन्दा पहिला नेपालमा सभा गरेर विरोध गर्ने यही समूहको कांग्रेस म हुँ । त्यो बेलामा गगनजी र विश्वप्रकाशजीले हामीले गल्ती गर्‍यौँ, हाम्रा नेता मानेनन्, हामी सुध्रिन्छौँ, सच्चिन्छौँ, माफी देउ, जेनजी हो भन्दै हिँडेको नालायक हुतिहारा अहिले चाहिँ सरकारको भजन गाएर हिँड्नुमा कुनै आश्चर्य छैन,’ नेता बस्नेतले भने ।

‘सरकारको गलत कामको पनि भजन गाएर जब हिँड्छ त्यो पार्टी समाप्त भएर जान्छ,’ कांग्रेस नेता बस्नेतले भने ।

नेता बस्नेतले वीपीको जुत्ता गगन थापा जस्ता व्यक्तिले लगाएको छुभन्दा पनि नहुसाउने बताएका छन् । उनले भने, ‘वीपी कोइरालाको जुत्ता गगन थापाले लगाएर हिँड्या छु भनेर भन्नुभयो पत्याउनेले पत्याइदिए प¥यो नि । व्यवहारमा हेर्ने हो भने ६ फुटको नेता हाम्रो वीपी कोइराला ५ फुट ४ ईञ्चको गगनजीलाई त्यो जुत्ता मिल्छ ? ठीक हुन्छ ? यो हावा कुरा हो ।’

नेता बस्नेतले भने, ‘वीपी कोइरालाको सिद्धान्त, बिचारलाई चाहिँ समाप्त पार्न खोज्ने, प्रजातान्त्रिक समाजवाद वीपी कोइरालाको सिद्धान्त, त्यही पछि लागेर आज हजारौं मान्छे मरेका छन्, लाखौं जेल गएका छन्, लाखौं लाखको संख्यामा मरिमेटेर हिँडिरहेका छन् ।’

‘उहाँ चाहिँ सोसियल डेमोक्रेशी भनेर हिँडीरहनुभएको छ । उहाँ वीपी कोइरालाको कार्यकर्ता हुन्छ ? यो वाइह्यात कुरा हो, फटाहा कुरा,’ बस्नेतले भने, ‘यस्ता कुरालाई चिरफार गरेर आगामी दिनमा हामीले कसरी कांग्रेसलाई सशक्त बनाउन सक्छौँ र त्यो दिन नजिक आइसकेको छ ।’

नेता बस्नेतले भने, ‘नेपाली कांग्रेस पार्टीले १५औँ अधिवेशनका लागि कार्यतालिका प्रस्ताव ल्याएर छलफलको विषयमा सुझाव दिने काम भइरहेको छ । जिल्ला जिल्लामा जुनजुन ठाउँमा जुनजुन पद खाली भएको छ । हाम्रै नेताहरूबाट फाइदा लिएका मान्छे पनि छोडेर हिँडेका होलान् । कुनै पद रिक्त होला । के होला । जिल्लाका नेताहरूसँग सल्लाह गरेर पदपूर्ति गरेर महाधिवेशन सञ्चालन गर्ने कुरा चाँडै अगाडि बढाउने कुरा आइसकेको छ । हामी सशक्त रुपमा अगाडि बढ्नु पर्छ ।’

‘कसका पछि लाग्ने ? कसलाई आशीर्वाद दिने ? कसलाई खल्तीबाट टिकट दिने ? कसको नाम कसले सिफारिस गर्ने ? यो कुरा फेरि दोहोरिन थाल्यो भने हामीले पनि केही गर्न सक्ने वाला छैनौँ । हामीले फिल्ड, चुनाव क्षेत्र, जिल्लाहरू, कार्यक्षेत्रबाट मान्छे छानेर अगाडि बढाउन सक्यौँ र संगठन गर्न सकियो भने हामी लक्ष्यअनुसार अगाडि बढ्न सक्छौँ,’ नेता बस्नेतले भने ।

‘चुनावको मुखमा हाम्रो हार हुन्छ, विशेष महाधिवेशन नगरौँ भन्दाभन्दै गगन थापाजीको नेतृत्वमा, मैले त शुरुमै भनेको थिएँ, उहाँले चाहेर हो वा अरुले वहाँलाई चलाएर हो विशेष महाधिवेशनको रचना गरियो । त्यसबाट कांग्रेसलाई कमजोर पारियो,’ नेता बस्नेतले भने ।

‘यो थिलथिलो अवस्थाको कांग्रेसलाई नयाँ ढंगबाट कसरी अगाडि बढाउने ? वीपी कोइरालाको पालाको अत्याधिक दुईतिहाइ बहुमतको कांग्रेस कसरी बनाउने भन्ने कुरामा हामी सम्पूर्ण कांग्रेस मात्रै होइन यो देशका प्रजातन्त्रवादीहरूले सोँचेर काम गर्ने बेला आएको छ । त्यो प्रेरणा लिने दिन हो,’ कांग्रेस नेता बस्नेतले भने ।

Published : Wednesday, 2026 September 9, 10:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया