फेवातालको पहिलो नक्सा कोर्ने इञ्जिनियर श्रेष्ठको निधन, आर्यघाटमा दाहसंस्कार

काठमाडौं । पोखराको फेवातालको पहिलो नक्सा कोर्ने राष्ट्रसेवक इञ्जिनियर नन्दकुमार श्रेष्ठको ९४ बर्षको उमेरमा निधन भएको छ ।

पोखराको फेवातालसंगै पावरहाउस, बुटवलको तिनाउ नदी तथा बाणगंगा सिँचाइ आयोजना, लमजुङको हाडेटार सिँचाइ योजना, बर्मझियाको चन्द्र नहरलगायत विभिन्न विकास तथा सिँचाइ आयोजनामा श्रेष्ठले इञ्जििनियरको हैसियतले प्रमुख र नेतृत्वदायी भूमिका खेलेका थिए ।

तीस बर्ष राष्ट्रसेवामा रहेर अनिवार्य अबकाशपछि पूर्णतः स्वस्थ जीवन बिताइरहेका श्रेष्ठको निधन भएको बुहारी रेणुका गुरुङले जानकारी दिएकी छिन् ।

ग्रिनसिटी अस्तालकी फाइनान्स डाइरेक्टर गुरुङले ससुरा बुवाको निधनबाट परिवारले सच्चा अभिभावक एवं घरको मियो गुमाएको बताएकी छिन् । राष्ट्रले सच्चा राष्ट्रसेवक गुमाएको भन्दै उनले दुःख ब्यक्त गरेकी छिन् ।

नेपाल सरकारका विभिन्न निकायमा करीब ३० वर्ष इन्जिनियरका रूपमा राष्ट्रको सेवा गरेका श्रेष्ठले देशमा पूर्वाधार तथा सिँचाइ विकासको सुरुवाती चरणदेखि नै विभिन्न महत्वपूर्ण आयोजना निर्माण तथा व्यवस्थापनमा ऐतिहासिक भूमिका खेलेका छन् ।

श्रेष्ठले तयार पारेको पोखराको फेवातालको नक्साकै आधारमा उनकै नेतृत्वमा फेवाताल सम्पन्न भएको थियो । श्रेष्ठको समयमा आधुनिक प्रविधि, स्रोत–साधन तथा सहज यातायातको सुविधा अत्यन्तै कम हुँदाको कठिन भौगोलिक अवस्था र निकै चुनौतीपूर्ण परिस्थितिका बीच उनले आफ्नो जिम्मेवारी पूरा गरेका थिए । त्यसैले पनि इञ्जिनियरिङ क्षेत्रमा जहिले पनि श्रेष्ठ चर्चा रहेका थिए ।

श्रेष्ठले विकास आयोजनालाई सरकारी जिम्मेवारी मात्र नभई देशको विकास र भावी पुस्ताको भविष्यसँग जोडिएको राष्ट्रिय दायित्वका रूपमा लिने गरेका थिए । श्रेष्ठले बिभिन्न बिभूषण एवं अन्य बिभिन्न पदवीबाट सम्मानित भएका छन् ।

उनीसँगै काम गरेका र उनको निर्देशनमा काम गरेकाहरूले श्रेष्ठलाई कुशल इन्जिनियर तथा निष्ठावान् राष्ट्रसेवकका साथै सरल, शालीन, अनुसाशीत र असल अभिभावकका रूपमा स्मरण गर्ने गर्छन् ।

परिवारप्रतिको माया, जीवनप्रतिको सकारात्मक दृष्टिकोण, असल संस्कार र सबैप्रतिको सम्मान सदैव प्रेरणाको स्रोत बन्ने परिवारले जनाएको छ ।

बुहारी रेणुका गुरुङले श्रद्धाञ्जलिसहित श्रेष्ठको बिदाइ गरेकी छिन् । ‘बुबा, तपाईंको भौतिक उपस्थिति अब हामीमाझ नरहे पनि तपाईंले देशका लागि गर्नुभएको योगदान, असल कर्म, इमानदारी, संस्कार, माया र आशीर्वाद सधैँ हाम्रो हृदयमा जीवित रहनेछन् । तपाईंले छोडेर जानुभएको असल विरासत नै हाम्रो लागि सबैभन्दा ठूलो सम्पत्ति हो,’ गुरुङले भनिन् ।

इन्जिनियर तथा राष्ट्रसेवक स्व.श्रेष्ठका २ छोराहरू दिनेश श्रेष्ठ, उमेश श्रेष्ठ र बुहारीहरू चन्दा श्रेष्ठ, रेणुका गुरुङ्ग तथा छोरी सरिता श्रेष्ठ रहेका छन् । श्रेष्ठको पशुपति आर्यघाटमा नेपाल सरकारले दिने सम्मानका साथ मंगलबार दाहसंस्कार गरिएको छ ।

Published : Wednesday, 2026 September 9, 9:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया