एमालेका मुख्यमन्त्रीलाई साथ दिँदा समानुपातिक सांसद अम्बिकाको सांसद पद खुस्कियो

मसुरियार । लुम्बिनी प्रदेश सभा सचिवालयले जनता समाजवादी पार्टी, नेपाल (जसपा)की समानुपातिक प्रदेश सभा सदस्य (सांसद) अम्बिका काफ्लेको दल त्यागसम्बन्धी सूचना प्रकाशन गरेर सांसद पदबाट हटाएको छ ।

प्रदेश सभा अधिवेशन चालु नरहेको अवस्थामा सभामुखको निर्देशनअनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) तथा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १९६ बमोजिम दल त्यागसम्बन्धी सूचना प्रकाशन गरिएको हो ।

काफ्ले पार्टीको नीति, निर्देशन विपरीत एमालेका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत लिएर ह्वीप उल्लंघन गरेकी थिइन् । उनीसँग चार सांसदले ह्वीप उल्लंघन गरेका छन् । अन्य तीन जनासँग पनि जसपाले स्पष्टीकरण माग गर्दै चिक्त नबुझेपछि सांसद पदबाट हटाउने निर्णय गरिसकेको छ । उनीहरूको हकमा भने प्रदेश सभाले केही भनेको छैन ।

जसपा नेपाल लुम्बिनी प्रदेश सभा संसदीय दलको निर्णय र सिफारिसका आधारमा पार्टी केन्द्रीय समितिले काफ्लेलाई प्रदेश सभा सदस्य पदबाट निष्काशन गर्ने निर्णय गरेको थियो । पार्टीले काफ्लेले पटकपटक स्पष्टीकरणको मौका दिँदा समेत बेवास्ता गरी पार्टी तथा संसदीय दलको निर्णयविपरीत कार्य गरेको जनाएको छ ।

सो निर्णयबारे जानकारी गराउँदै जसपा नेपालको लुम्बिनी प्रदेश सभा संसदीय दलको कार्यालयबाट प्रदेश सभा सचिवालयमा पत्र प्राप्त भएको थियो । उक्त पत्र सभामुखसमक्ष पेश गरिएपछि प्रदेश सभा बैठक चालु नरहेको अवस्थामा कानूनी व्यवस्थाअनुसार सचिवालयको सूचनापाटीमा सूचना प्रकाशन गर्न निर्देशन दिइएको थियो ।

प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जारी गरेको सूचनामा काफ्लेको दल त्यागसम्बन्धी विवरण सार्वजनिक गरिएको उल्लेख छ । सूचनामा पार्टीले प्रदेश सभा सदस्य पदबाट निष्काशन गरेको जानकारीलाई कानूनी प्रक्रियाअनुसार सचिवालयले प्रकाशन गरेको जनाइएको छ ।

काफ्लेलाई एमालेका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिने क्रममा पार्टीले जारी गरेको ह्वीपसँग सम्बन्धित विषयमा पार्टी तथा संसदीय दलको निर्णयविपरीत कार्य गरेको आरोपमा कारबाही गरिएको हो ।

Published : Wednesday, 2026 September 9, 8:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया