सभापति डा.राणाद्वारा राष्ट्रिय एकता मञ्चका अध्यक्ष जोशी लगायतका पदाधिकारीलाई पार्टीमा स्वागत

काठमाडौं । जय नेपाल पार्टी (जनेपा)ले विभिन्न दल, अभियान र व्यक्ति विशेषहरूसँग एकता वार्ता विविध तहमा जारी राखेको छ ।

एकता प्रयास तीब्र रूपमा अघि बढीरहेको पार्टीका नेताहरू बताउँछन् । जनेपाले गठन गरेको वार्ता समितिका संयोजक नारायण कोइरालाका अनुसार हाल दशवटा राजनीतिक दल र अभियानहरूसँग एकताको प्रयास जारी छ । विभिन्न चरणमा वार्ताहरू भइरहेको उनले बताएका छन् ।

यसै क्रममा निर्वाचन आयोगमा दल दर्ता कायम रहेको राजनीतिक दल, राष्ट्रिय एकता मञ्च भदौ १७ गते जय नेपाल पार्टीमा समायोजन भइसकेको छ ।

सभापति डा.धवलशम्शेर राणाले सोही दिन राष्ट्रिय एकता मञ्चका अध्यक्ष बिजेन्द्रलाल जोशी लगायत पदाधिकारीलाई जनेपामा स्वागत गरेका छन् । राष्ट्रिय एकता मञ्चमा काठमाडौंका रैथानेहरूको बाहुल्य रहेको बताइन्छ ।

वार्ता समितिमा कोइरालाका अतिरिक्त अञ्जना शाह रावल, सुरेश आचार्य, प्रज्जवल बोहरा र होमनाथ गौतम सदस्य छन् ।

यसको अतिरिक्त राजनीतिक दल वा अभियानमा संस्थागत र समूहगत संलग्नता नभएका स्वतन्त्र हैसियत भएका व्यक्तिहरूसँग पनि जनेपाले वार्ता र एकता प्रयास जारी राखेको छ । विभिन्न चरण र तहमा यस किसीमका वार्ताहरू जारी रहेको वार्ता टोलीका संयोजक धनसुर शाहीले बताए ।

वार्ता समितिमा इश्वरीप्रसाद भट्टराई, केदारबहादुर धमला, मीना शाही, ठमानसिंह तामाङ र सिवाङुगीनी राणा सदस्य छन् ।

जनेपाले आन्तरिक पार्टी व्यवस्थापनलाई मध्यनजर गर्दै केन्द्रीय सदस्यहरूको वरियताक्रम निर्धारण गर्न एक मर्यादाक्रम निर्धारण समिति समेत गठन गरेको छ ।

मर्यादाक्रम निर्धारण समितिमा संयोजक सुरेश आचार्य छन् । सदस्यहरू मीना शाही, नानी मैयाँ आचार्य, धनसुर शाही र प्रज्जवल बोहरा छन् ।

Published : Saturday, 2026 September 5, 6:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया