पर्सामा ११४ किलो गाँजासहित कार नियन्त्रण, धादिङका २१ वर्षीय युवक पक्राउ

कृष्ण यादव

वीरगञ्ज । पर्साको तिलावेपुलदेखि भिष्वा जाने सडकखण्डअन्तर्गत पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।

गाँजा ओसारपसारमा प्रयोग भएको कारसहित प्रहरीले एकजना युवकलाई नियन्त्रणमा लिएको छ । शुक्रबार राति प्रहरी चौकी, धोरे र इलाका प्रहरी कार्यालय, पोखरियाबाट खटिएको प्रहरी टोलीले तिलावे पुलतर्फबाट आउँदै गरेको बा १८ च ३६५७ नम्बरको निशान कारबाट गाँजासहित नियन्त्रणमा लिएको हो ।

जाँचका क्रममा कारको डिकीभित्र १२ वटा पोकामा लुकाएर राखिएको ११४ किलो २५ ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

गाँजासहित प्रहरीले धादिङको बेनिघाट रोराङ गाउँपालिका–८ का २१ वर्षीय साजन चेपाङलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी चक्रबहादुर मल्लले गाँजा र कार नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

प्रहरीले पछिल्लो समय पर्साका विभिन्न सीमा तथा ग्रामीण सडकमार्फत लागूऔषध ओसारपसार हुने गतिविधिमाथि निगरानी बढाउँदै आएको जनाएको छ ।

Published : Saturday, 2026 September 5, 3:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया