रोटरी क्लबद्वारा बाढी प्रभावितलाई सहयोग हस्तान्तरण

टंक पन्त

काठमाडौं । सामाजिक र मानवीय क्षेत्रमा क्रियाशील रोटरी क्लबले भोटेकोशीको बाढीवाट प्रभावित नागरिकहरूलाई अभियानकै रुपमा सहयोग एवं राहत हस्तान्तरण गरेको छ ।

रोटरी क्लब अफ काठामाडौं डाउनटाउनले भोटेकोशी बाढीले मानवीय र भौतिक क्षति गरेको र सो बाढीमा परि हजारौं नागरिक बेपत्ता भएकोले सो सहयोगको अभियान थालेको हो ।

रोटरी क्लब अफ काठमाडौं डाउनटाउनले सबैभन्दा बढि क्षति तुल्याएको रसुवामा बाढीबाट बाच्न सफल भएका बालवालिका, बृद्धबृद्धालाई तत्काल बस्न र खानाको आवश्यक सहयोग पुर्‍याएको छ । क्लबका एक्स्ट्रा एक्टिभी चेयर हरि ढकालको नेतृत्वमा गएको टोलीले बत्तिका लागि हेडलाइट, टेण्टहरू, अन्य लगाउने र ओडने कपडा, ६ देखि १५ बर्षसम्मका बालबालिकालाई ४ सय सेट कपडा र अन्य अत्यावश्यक सामग्री लिएर रसुवा पुगेर हस्तान्तरण गरेको छ ।

बाढी पहिरोमा परेकाहरूलाई उद्धारमा ज्यानको बाजी थापेर लागेको सुरक्षा निकायका लागि आवश्यक सहयोगी सामग्री हस्तान्तरण गरेको छ । क्लबका अध्यक्ष अनोजराज पौडेल, सहसचिव अनिता लामा, मीना पन्थ रेग्मी, रोटरी काठमाडौं सर्कलका चार्टर प्रेसिडेण्ट नुगलआनन्द बैद्य, अध्यक्ष हरिमाया गुरुङले सशस्त्र प्रहरी बल, नेपालका डीआइजी कृष्ण ढकाल र एसएसपी जीवन के.सी.लाई सुरक्षा निकायलाई उद्धारका बेला आवश्यक पर्ने बिभिन्न सहयोग सामग्री हस्तान्तरण गरेको छ ।

वाटरफिल्टर, अक्वाबक्स, जुत्ता, मास्क, सञ्चो, हेडल्याम्प लगायतका सामग्री हस्तान्तरण गर्दै अध्यक्ष पौडेलले रोटरी क्लब काठमाडौं डाउनटाउनले मात्र होइन अन्य क्लब र डिस्ट्रिक ३२९२ ले पनि आर्थिक लगायत कपडा, खाद्यान्न जस्ता थुप्रै सहयोग गर्दै आएको जानकारी दिएका छन् । अध्यक्ष पौडेलले मानवीय र सामाजिक क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको रोटरीले घाइतेहरूको उपचारका लागि पनि स्वास्थ्य सामग्री पनि प्रदान गर्दै आएको र निरन्तर अभियानकै रुपमा राहत तथा उद्धारमा सहयोगी हात बढाएको उल्लेख गरेका छन् ।

सशस्त्र प्रहरी बलका डीआइजी कृष्ण ढकालले मानवीय क्षेत्रका अग्रणी भूमिका निर्वाह गर्दै आएको रोटरी क्लबले हरेक भूकम्प होस् वा बाढी पहिरोको प्रकोपमा होस निकै ठूलो सहयोग गर्दै आएको बताए । आर्थिकदेखि कपडा, खाद्यान्न र अन्य बिभिन्न प्रकोप एवं संकटका समयमा तत्काल आवश्यक पर्ने अन्य सामग्री प्रदान गरेको उनले स्मरण गरेका छन् । यस पटकको अकल्पनीय बाढी पहिरोमा उद्धार गरिएकाहरूका लागि मात्र होइन उद्धारमा खटने सुरक्षा निकायका लागि पनि आबश्यक पर्ने सहयोगी सामग्री प्रदान गरेकोमा सिंगो संगठनको तर्फबाट उनले विशेष आभार व्यक्त गरेका छन् ।

रोटरी क्लब काठमाडौं डाउनटाउनका सदस्यहरुले र अन्य कलबसहित डिस्ट्रिकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग जम्मा गरेका छन् । जम्मा गर्ने क्रम जारी रहेको डिष्ट्रिक गभर्नर बिष्णुबहादुर कार्कीले जानकारी दिएका छन् । उनका अनुसार अहिले पनि आर्थिक सहयोग जुटाउने क्रम जारी रहेको र क्लबले आर्थिक सहित अन्य सहयोग पनि गर्दै जानेछ ।

क्बलले सशस्त्र प्रहरी अस्पतालको प्राङ्गणमा पनि बृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरेको छ । सातौँ इन्टलेशन एवं चार्टर डे पनि भब्यताका साथ सम्पन्न गरेको छ ।

कार्यक्रममा पाष्ट डिष्ट्रिक गभर्नर राजीव पोखरेलले मानवीय र सामाजिक क्षेत्रमा काम गर्ने गरेको क्बलले विश्वमै उदाहरणीय भूमिका निर्वाह गरेको र आगामी दिनमा जे गरिन्छ उपलब्धिपूर्ण काम गर्नुपर्ने धारणा राखेका छन् ।

अनोजराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा चार्टर प्रेसिडेण्ट श्यामबहादुर पराजुली, अशिष्टेण्ट गभर्नर निशचलबहादुर श्रेष्ठ, पाष्ट प्रसिडेण्ट स्थानेश्वर रेग्मी, उपाध्यक्ष केशरीराज पण्डित लगायतले रोटरी क्लबलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बरिष्ठ पत्रकार एवं उपाध्यक्ष टंक पन्तद्वारा संचालित कार्यक्रममा क्लब डाइरेक्ट्री लोकार्पण पनि गरिएको छ । क्लबमा प्रतिष्ठित चिकित्सक, पत्रकार, पूर्व सुरक्षा अधिकारी, कानून व्यवसायी, कलाकार, व्यवसायी, उद्योगी , अस्पताल संचालकदेखि हरेक क्षेत्रका व्याक्तित्वहरू रहेका छन् ।

Published : Saturday, 2026 September 5, 2:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया