कांग्रेस नेता बस्नेतको समन्वयमा सिन्धुपल्चोक १ का जनप्रतिनिधिहरूद्वारा बाढी प्रभावितलाई नगद राहत घोषणा

बाह्रबिसे । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको समन्वयमा सिन्धुपाल्चोकका स्थानीय तहहरूले भोटेकोशी बाढी प्रभावितहरूका लागि राहत प्याकेज घोषणा गरेका छन् ।

सिन्धुपाल्चोक क्षेत्र नं. १ मा कांग्रेसको नेतृत्वमा रहेका विभिन्न स्थानीय तहले भोटेकोशी बाढी प्रभावितलाई नगद राहत उपलब्ध गराउने निर्णय गरेका छन् ।

भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले प्रतिव्यक्ति २ लाख रुपियाँ, बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले प्रतिव्यक्ति १ लाख १५ हजार रुपियाँ, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहोराले प्रतिव्यक्ति १ लाख २५ हजार रुपियाँ र सुनकोशी गाउँपालिकामा उपाध्यक्ष कान्छी लामाको पहलमा प्रतिव्यक्ति १ लाख ७५ हजार रुपियाँ राहत उपलब्ध गराउने निर्णय भएको छ ।

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपहिरोका कारण रोजगारी तथा अन्य सिलसिलामा रसुवा पुगेका सिन्धुपाल्चोकका नागरिक प्रभावित भएका छन् । केहीको मृत्यु भएको छभने ठूलो संख्यामा नागरिक बेपत्ता तथा प्रभावित भएका छन् ।

पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले स्थानीय तहहरूले आफ्नो स्रोतबाट राहत प्याकेज घोषणा गरेका हुन् ।

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं. १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतका अनुसार क्षेत्र नं. १ अन्तर्गत कांग्रेसले नेतृत्व गरेका नगरपालिका तथा गाउँपालिकामा कांग्रेस नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको समन्वय तथा निर्देशनमा राहत प्याकेज घोषणा गर्ने निर्णय गरिएको हो ।

सभापति बस्नेतका अनुसार कांग्रेसले जितेका नगरपालिका र पालिका तथा उपाध्यक्ष सहित कार्यपालिकामा बहुमत रहेको सुनकोशी गाउँपालिकालगायत अन्य स्थानीय तहमा समेत प्रभावित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरिएको छ ।

बाढीपहिरोबाट ठूलो क्षति व्यहोरेका परिवारलाई स्थानीय सरकारबाटै उल्लेख्य रकम राहतस्वरूप उपलब्ध गराउने निर्णयले पीडितलाई तत्काल आर्थिक सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रभावित नागरिकको अवस्था हेरेर आगामी दिनमा थप राहत तथा पुनःस्थापनाका कार्यक्रमसमेत अघि बढाइने कांग्रेस नेताहरूले बताएका छन् ।

Published : Thursday, 2026 September 3, 8:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया