कागेश्वरी मनोहरा नगरपालिकाकी घुस्याहा ईञ्जिनियर दीपा र बिचौलिया आस्मालाई अख्तियारद्वारा पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईञ्जिनियर दीपा कार्की र बिचौलिया आस्मा कार्कीलाई घुस, रिसवतको रकमसहित रंगेहात पक्राउ गरेको छ ।

मंगलबार पक्राउ परेका उनीहरूलाई अख्तियारले विशेष अदालत, काठमाडौंमा पेस गरि अनुसन्धानका लागि म्याद थपको अनुमति लिएको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालयमा भवन निर्माण तथा वस्ती विकास शाखा प्रमुख इन्जिनियर (सातौं) पदमा कार्यरत दीपाले स्ट्रक्चर एनलाईसिसको काम स्वीकृत गरेबापत बार्गेनिङ गर्दै पटक–पटक दुःख हैरानी दिई सेवाग्राहीसँग घुस, रिसवत माग गरेको अख्तियारले जनाएको छ ।

पीडित पक्षको सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको टोलीले ईञ्जिनियर दीपा र रकम लिई मध्यस्थको काम गर्ने बिचौलिया आस्मा कार्कीलाई सेवाग्राहीबाट घुस, रिसवत बापत ६४ हजार रूपियाँ लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालय थली, डाँछीबाट मंगलबार दीपा र आस्मालाई नियन्त्रणमा लिइएको थियो ।

Published : Tuesday, 2026 September 1, 11:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया