चीनद्वारा बाढी प्रभावितका लागि ३० करोड सहयोग हस्तान्तरण
काठमाडौं । चीन सरकारले नेपालका बाढी प्रभावितका लागि ३० करोड सहयोग रकम हस्तान्तरण गरेको छ ।
आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेट गरी नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले ३० करोड नेपाली रूपियाँको चेक हस्तान्तरण गरेका हुन् ।
चिनियाँ रेडक्रसले उपलब्ध गराएको थप ३ करोड ६ लाख रूपियाँ (२ लाख अमेरिकी डलर) नगद पनि सोही अवसरमा हस्तान्तरण गरेको छ ।
चीनका राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विशाल प्रलयका कारण नेपाल र चीनले भोगेको विपत्तिको सामना दुवै देशले मिलेर गर्ने बताएको अर्थमन्त्री वाग्लेको निजी सचिवालयले जनाएको छ ।
नेपालको विपत्तिमा चीन सधैं साथमा रहेको सन्देश चीनका राष्ट्रपति र प्रधानमन्त्रीले नेपाल सरकारलाई पठाएको बताउँदै राजदूत माओमिङले अन्य सहायता सामग्री पनि नेपाल भित्रिन सुरू भइसकेको जानकारी दिएका छन् ।
उनका अनुसार आइतबार मात्रै दुई वटा चिनियाँ जहाजले ५० टन टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटजस्ता राहत सामग्री काठमाडौं ओरालेका छन् ।
रसुवामा गएको बाढीका कारण चीनतर्फ रोकिएका नेपालीहरूलाई मुस्ताङको कोरला नाका भएर स्वदेश फिर्ता ल्याउन पहल भइरहेको राजदूत माओमिङले अर्थमन्त्री सचिवालयलाई जानकारी गराएका छन् ।
जलविद्युत् कम्पनीको सुरुङमा फसेकाहरूको उद्धारका लागि चिनियाँ हेलिकप्टरसहितको दक्ष जनशक्ति र थप उद्धार प्राविधिकहरू काठमाडौं आइसकेका छन् ।
नेपाल सरकारले माग गरेको ठूलो परिमाणको सामान बोक्न सक्ने ड्रोन ल्याउनका लागि पनि द्रुत गतिमा काम भइरहेको उनले अर्थमन्त्रालयलाई जानकारी गराएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया