विपद्को समयमा चोरी, ठगी र अपराध गर्नेहरूविरुद्ध निर्मम बन्यो प्रहरी, धमाधम पक्राउ
काठमाडौं । रसुवा बाढी पश्चात उत्पन्न विषम परिस्थितीमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नेपाल प्रहरी सक्रिय भएर लागि परेको छ ।
सुरक्षाकर्मीहरू विपदको समयमा खोज तथा उद्दारमा व्यस्त रहने र प्रभावित क्षेत्रमा रहेको त्रासको अवस्थामा लुटपाट चोरी, ठगी जस्ता आपराधिक क्रियाकलाप बढ्न सक्ने भएकाले नेपाल प्रहरी थप सक्रियताकासाथ लागि परेको आइतबार प्रेस नोट जारी गरेर जनाएको छ ।
रसुवाको भोटेकोशीमा आएको बाढीले बगाई ल्याएको पैसा राख्ने सेफ तोडफोड गरी नगद चोरी गर्ने २९ जना शुक्रबार पक्राउ परे । धादिङको गल्छी गाउँपालिका–४ बेल्खुखोलास्थित त्रिशुली नदीको किनारमा सेफ फेला पारी सेफभित्र रहेको नगद निकाली चोरी गरेको घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट नगद ९२ लाख ६८ हजार ५ सय ५ रूपियाँ समेत प्रहरीले बरामद गरेको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषको नाममा भ्रम सृजना गर्ने रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसे बस्ने ३२ वर्षीय भगवान कार्की पक्राउ परेका छन् । उनले बाढी प्रभावितहरूको उद्दार तथा राहत संकलनको लागि नेपाल सरकारद्वारा जारी गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १ लाख २० हजार रूपियाँ रकम सहयोग गरेको भनी च्याट जीपीटीको प्रयोग गरी नक्कली स्टेटमेन्ट तयार गरी सामाजिक सञ्जालहरूमा पोष्ट गरेका थिए ।
बाढीले बगाई ल्याएको शवबाट कानको मुन्द्रा चोरी गर्ने चितवनको भरतपुर महानगरपालिका–१ लीला चोक बस्ने २५ वर्षीय मदन गुरूङ समेत २ जनालाई भदौ ११ गते प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले यस्ता कार्य हुन नदिन र भएका आपराधिक क्रियाकलापलाई कानूनी दायरामा ल्याउन सूचना संकलन, सामाजिक सञ्जालको अनुगमन, निगरानी, प्रहरी परिचालनलाई प्रभावकारी बनाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबिनारायण काफ्लेले भने, ‘विपद्को मौका छोपी हुन सक्ने चोरी, लुटपाट, विपद् राहत सहयोगका नाममा हुने साइबर स्क्याम लगायतका आपराधिक गतिविधि रोकथाम र संलग्नलाई कानूनी दायरमा ल्याउन नेपाल प्रहरी थप संवेदनशील भई कार्य गरिरहेको छ ।’
विपदको समयमा सडक तथा पुल अवरूद्ध हुँदा उद्दार एवम् राहत वितरणमा कठिनाई भइरहेको हुँदा अवरोध सडक खुलाउन नेपाल प्रहरीले स्थानीय तह र सरोकारवाला निकायसँग आवश्यक समन्वय गरिरहेको छ ।
घाइतेको उद्दार एवम् विस्थापितहरूलाई राहत वितरण कार्यमा कुनै पनि त्रुटि नहुने गरी कार्य गर्न नेपाल प्रहरी सचेत छ ।
यस्ता आपराधिक गतिविधि भइरहेको वा हुनसक्ने सूचना तथा बाढी प्रभावित स्थलमा भेटिएका बहुमूल्य सामानहरू सुरक्षित राखी यथाशीघ्र नजिकको प्रहरी कार्यालय तथा १०० मा जानकारी गराउन प्रहरीले अनुरोध समेत गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया