उद्धार र राहतमा सबैलाई खुला छाड्न आग्रह, कांग्रेसका सांसदहरूद्वारा प्रभावित क्षेत्रको अनुगमन
काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका छन् ।
शुक्रबार संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, प्रमुख सचेतक बासना थापा, सांसद टेकबहादुर गुरुङ सहितको टोलीले बाढी प्रभावित क्षेत्र नुवाकोट, धादिङ लगायतको निरीक्षण गरेको छ । नुवाकोटको विदुर आसपासका क्षेत्र उनीहरूले निरीक्षण गरेका छन् ।
कांग्रेसका सांसदहरूले बाढी प्रभावितको अवस्था, उद्धार तथा राहत वितरणका बारेमा स्थानीय प्रशासनसँग जानकारी लिएका छन् ।
कांग्रेसका सांसद टेकबहादुर गुरुङले सरकारको तर्फबाट भइरहेको हराइरहेकाहरूको खोजी, उद्धार र राहतमा भइरहेका प्रयासका विषयमा जानकारी लिइएको बताए । उनले बाढी प्रभावित क्षेत्रमा अत्यन्तै पीडादायी अवस्था रहेको बताएका छन् ।
सांसद गुरुङले बाढी प्रभावित क्षेत्रमा हराइरहेका मानिसहरूको उद्धारका लागि ईक्वीपमेन्टको अभाव छभने पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई अपील गरेर खोजी गर्नुपर्ने बताए । सुरक्षा निकायलाई ईक्वीपमेन्ट उपलब्ध गराइदिँदा उद्धारमा झन् सहजता आउने उनले बताएका छन् ।
सरकारले आफ्नो क्षमताअनुसार उद्धार र राहतको काम गरिरहेको कांग्रेस सांसद गुरुङले बताएका छन् । मान्छे पुग्न नसकेको ठाउँमा पनि सरकारले राहत सामग्री पु¥याएको बताउँदैन सांसद गुरुङले वृद्धवृद्धा, बालबालिका र बिरामीलाई प्राथमिकतामा राखेर उद्धार भइरहेको बताए ।
सांसद गुरुङले गृहमन्त्री सुधन गुरुङको सक्रियताको पनि प्रशंसा गरेका छन् । उद्धार र सुरक्षाकर्मी परिचालनमा गृहमन्त्री सुधन गुरुङ आफै फिल्डमा खटिएको आफूले पाएको बताए ।
कांग्रेस सांसद गुरुङले बाढीले सम्बन्ध बिच्छेद गराएका स्थानहरूमा तत्कालको लागि तुइनको व्यवस्था गरेर भए पनि उद्धार र राहतको व्यवस्थालाई सहज बनाउन सकिने सुझाव दिएको बताएका छन् । बेनीघाट लगायतका स्थानमा बाढीले क्षति पुर्याएका घरहरूबाट केही बस्तुको गन्ध आइरहेको बताउँदै सांसद गुरुङले त्यस विषयमा पनि ध्यान दिन आवश्यक रहेको बताए । उनले उद्धारका लागि व्यक्ति वा निजी क्षेत्रको सहयोग चाहिन्छ भने सरकारले तत्काल आह्वान गर्नुपर्ने बताए । उद्धार, राहत लगायतका विषयमा सरकारले सबैलाई आह्वान गरेर जानुपर्ने सांसद गुरुङले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया