प्रहरी अस्पतालबाट चिकित्सक टोली रसुवातर्फ प्रस्थान, घाइतेहरूको उपचारको लागि अस्पताल तयार
काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि नेपाल प्रहरीले उद्दार, राहत, स्वास्थ्य सेवा तथा जोखिम न्यूनीकरणका लागि जनशक्ति र स्रोतसाधन परिचालन गरेको जनाएको छ ।
नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. छन्द बुढाथोकी (९८४९३९२६२३)को कमाण्डमा ९ जनाको चिकित्सक टोली एम्बुलेन्स एवम् आवश्यक स्वास्थ्य सामाग्रीसहित रसुवातर्फ प्रस्थान गरिसकेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
घाइतेहरूको उपचारको लागि नेपाल प्रहरी अस्पताल समेत तयारी अवस्था रहेको छ । घाइतेहरूको उपचारमा कुनै पनि कमि कमजोरी हुन नदिन इमर्जेन्सी र ट्रमा वार्डमा आवश्यक दक्ष जनशक्तिसहितको चिकित्सक टोली स्ट्याण्डवाई राखिएको छ ।
बाढीबाट प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्दार गर्ने कार्यको लागि नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुशीबाट समेत आवश्यक उद्दार सामाग्री सहित प्रहरी टोली परिचालन गरिएको छ ।
नेपाल प्रहरीले अन्य सुरक्षा निकाय एवम् सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी बाढी प्रभावित क्षेत्रहरूमा आवश्यक उद्दार कार्य गरिरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया