उद्धबद्वारा एमालेको सरकार बनाउन लेटरप्याड दुरुपयोग, दलको नेताबाट हटाउने र अनुशासनको कारबाही हुने
हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक कुमारी तामाङले बागमतीका प्रदेश प्रमुखलाई पत्र पठाएर दलका नेता उद्धव थापाले पार्टीको लेटरप्याड व्यक्तिगत रुपमा प्रयोग गरेर एमाले नेतृत्वको सरकार बनाउन गरेको समर्थनलाई मान्यना नदिन आग्रह गरेकी छिन् ।
थापालाई संसदीय दलको नेता पदबाट हटाउन बहुमत सांसदहरूको हस्ताक्षरसहित भदौ १ गते अविश्वासको प्रस्ताव दर्ता भइसकेको उनले बताएकी छिन् । साउन २० गते बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक र थापाकै अध्यक्षतामा साउन २१ गते बसेको संसदीय दलको बैठकले समेत सरकार बनाउने वा सहभागी हुने गतिविधिमा संलग्न नहुने निर्णय भइसकेको जानकारी प्रदेश प्रमुखलाई प्रमुख सचेतक तामाङले गराएकी छिन् ।
राप्रपा संसदीय दलका नेता थापाले एमालेको प्रलोभनमा पारेर पार्टीको निर्णय विपरीत एमालेबाट मुख्यमन्त्री पदका लागि अगाडि सारिएका किरण थापा मगरलाई समर्थन गरेको पत्र एकलौटी रुपमा पठाएपछि राप्रपाभित्र विवाद भएको छ । राप्रपाले थापालाई कारबाहीको प्रक्रिया अगाडि बढाइसकेको छ ।
पत्रमा प्रमुख सचेतक तामाङले भनेकी छिन्, ‘संसदीय दलको बैठकबिना नै मनोमानी ढंगले राप्रपा प्रदेश संसदीय दलको नेता उद्धव थापाले एमालेका बागमती प्रदेश सभाका सदस्य मा.किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन गरी प्रदेश प्रमुख समक्ष संसदीय दलका नेताले व्यक्तिगत लेटर प्याड प्रयोग गरी पत्र बुझाइएको कुरा संचार माध्यमबाट जानकारी पाउँदा आश्चर्यचकित भएका छौं ।’
‘पार्टीको निर्णय र बृहत्तर हित विपरीत स्वेच्छाचारी ढङ्गबाट निरन्तर अघि बढेका संसदीय दलका नेता थापाविरुद्ध भदौ १ गते बहुमतले अविश्वासको प्रस्ताव दर्ता भइसकेको व्यहोरा अवगत गराउँदछौं,’ प्रमुख सचेतक तामाङले भनेकी छिन् ।
‘यसअधि साउन २० गते बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकार निर्माणको गणितीय चलखेलमा राप्रपा सहभागी नहुने निर्णय गरेको र प्रदेश संसदीय दललाई सोही बमोजिमको निर्देश गरेको, सरकार निर्माणको छलफलमा सहभागी नहुन तथा समर्थन नगर्न पार्टीका सांसदहरुलाई ह्विप जारी गर्न संसदीय दलको नेतालाई निर्देश समेत भएको पृष्ठभूमिमा संसदीय दलको औपचारिक बैठक समेत नबसी पठाइएको अनधिकृत पत्र उपर कुनै काम कारबाही अगाडि नबढाउन श्रीमानसमक्ष हार्दिक अनुरोध गर्दछु,’ प्रदेश प्रमुखलाई पठाइएको राप्रपाकी प्रमुख सचेतक तामाङले भनेकी छिन् ।
‘स्मरणीय छ, पार्टीको निर्देशन बमोजिम संसदीय दलको बैठकले मिति २०८३/०४/२१ गते संसदीय दलका नेता उद्धब थापा स्वयंले अध्यक्षता गर्नु भएको बैठकले बागमती प्रदेश सरकार निर्माणको चलखेलमा सहभागी नहुने, कसैलाई समर्थन नगर्ने निर्णय समेत गरेको थियो । बैठकको निर्णय यसैसाथ संलग्न गरेको छु,’ राप्रपाको पत्रमा उल्लेख छ ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया