काठमाडौं महानगरद्वारा सहयोगापेक्षीहरूको उद्धार, ६ जना होल्डिङ सेन्टरबाट फरार

काठमाडौं । पशुपति क्षेत्रबाट उद्धार गरिएका सडक सहयोगापेक्षीहरूको वास्तविकता पहिचान गर्न होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ ।

काठमाडौं महानगरपालिका, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमले संयुक्त वैशाख २३ गते मंगलवारबाट संयुक्त रुपमा वडा नं. ८ तिलगंगामा सञ्चालन गरिएको सेन्टरमा पहिलो २८ जनालाई राखिएको छ । मंगलबार बिहान ३६ जनालाई उद्धार गरिएको थियो । उद्धार गरिएका मध्ये सेन्टरमा पुगेपछि पर्खाल नाघेर ६ जना भागेका छन् ।

मंगलबार नै काठमाडौं महानगरपालिकाका कार्यवाहक नगरप्रमुख सुनिता डंगोलले सेन्टरमा पुगेर पूर्वाधार, सुविधा, व्यवस्थापन र सहयोगापेक्षीका अपेक्षाका विषयमा जानकारी लिएकी छिन् । उनले भनिन्, ‘हामी काठमाडौंलाई सहयोगापेक्षी मुक्त बनाउन नेतृत्व गरिरहेका छौँ । शहरमा काम गर्न सक्ने व्यक्तिले श्रम गरेर खाने, श्रम बजारमा जान नसक्ने र दायित्व लिने कोही नभएकोको मानवोचित बसोबासका लागि महानगरपालिकाले व्यवस्था मिलाउनेछ ।’

‘पारिवारिक पुनर्मिलन पहिलो लक्ष्य हो । असहाय र वेवारिसेलाई मात्र आश्रममा राख्ने हो,’ कार्यबाहक नगरप्रमुख डङ्गोलले भनिन् ।

कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले सेन्टरको पूर्वाधारलाई व्यवस्थित र सुरक्षित बनाउन कोषले काम गर्ने बताएका छन् ।

उद्धार गरिएकामध्ये ४ जनामा मानसिक समस्या छ । १ जना ज्येष्ठ नागरिकलाई कुकुरले टोकेर घाइते बनाएको छ । उद्धारबाट व्हिलचेयर प्रयोगकर्ता र वैशाखी प्रयोगकर्तालाई समेत सेन्टरमा ल्याइएको मानव सेवा आश्रमका उपत्यका इञ्चार्ज कृष्ण पौडेलले जानकारी दिएका छन् ।

उद्धार भएकामध्ये ६ जना महिला र बाँकी सबै पुरुष छन् । उमेरका हिसाबले सबैभन्दा पाको उमेरको व्यक्ति ७८ वर्षको र सबैभन्दा कान्छो २५ वर्षको व्यक्ति छन् । ठेगाना हेर्दा सोलुखुम्बु, सर्लाही, मकवानपुर, साँखु, सुनसरी, मोराङ., बारा, महोत्तरी, खोटाङ्, धनकुटा, सुर्खेत, दोलखासहित स्थानका व्यक्ति रहेका छन् ।

Published : Thursday, 2026 May 7, 1:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया