रास्वपाका सांसदद्वय पोखरेल र सुनारका काण्डपछि बुर्लाकोटीको छाता काण्ड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री समेत रहेका सांसद कविन्द्र बुर्लाकोटीलाई एकजना व्यक्तिले मञ्चको सोफामा बसेका बेला पछाडिबाट छाता ओढाइदिएको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
तस्बिर र भिडियो भाइरल बनेपछि सांसद बुर्लाकोटीको आलोचना भइरहेको छ । आफ्नो निर्वाचन क्षेत्र गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आयोजित कार्यक्रममा बुर्लाकोटी सहभागी भएका थिए । कार्यक्रममा सहभागी हुने क्रममा मञ्चको सोफामा बसेका सांसद बुर्लाकोटीलाई एक व्यक्तिले पछाडिबाट छाता अढाइदिएका छन् ।
यसअघि, रास्वपाका सांसदद्वय विश्वराज पोखरेल र खगेन्द्र सुनारका धम्की काण्ड बाहिर आइसकेका छन् । पोखरेलले प्रधानाध्याकमाथि गरेको अपमान र धम्कीप्रति क्षमा मागेका छन् । तर, अर्का सांसद सुनारले कुनै पनि पश्चातप गरेका छैनन् । प्रहरीका एसपीलाई गुण्डा शैलीमा घिसारेर लैजाने भनेर धम्की दिएका छन् । सत्तारुढ दलको सांसद जस्तो व्यक्तिले धैर्यता र संयमता राखेर अभिव्यक्ति दिनुपर्छ ।
रास्वपाका सांसदहरूका बारेमा विभिन्न खालका काण्ड, फण्डा र हर्कतहरू बाहिर आइरहेका बेला महामन्त्री समेत रहेका बुर्लाकोटीको तस्बिर र भिडियोले सामाजिक सञ्जाल बिष्फोट हुने अवस्थामा पुगेको छ ।
आफूलाई छाता ओढाएको भिडियो र तस्बिर भाइरल बनेपछि सांसद बुर्लाकोटीले सामाजिक सञ्जालबाट जवाफ दिएका छन् । उनले भने, ‘बारपाक सुलिकोट गाउँपालिकामा आयोजना भएको ११औँ भूकम्प स्मृति दिवसमा सहभागी हुने क्रममा पानी परेको थियो । म कार्यक्रममा ध्यानमग्न भई पालिका अध्यक्षको कुरा सुन्दै थिएँ ।’
‘सोही क्रममा मेरो पछाडि बस्ने एकजना बुवाले छाता ओढ्दै मसँग केही कुरा गर्दै हुनुहुन्थ्यो’, बुर्लाकोटीले भने, ‘पछि कुरा सकिए पछाडि उहाँको छाताको बलेनी मेरो शरीरमा परेको र उहाँले छाताले पानी छेक्न खोजेको देखेपछि मैले उहाँलाई अगाडि आउन भने र हामीलेसँगै छाता ओड्यौं । पानी परेकै कारणले कार्यक्रम हतारले समापन गरियो ।’
सांसद बुर्लाकोटीले भने, ‘यो सबै कुराहरू कार्यक्रमको भिडियोमा देख्न सकिन्छ । करिब १ मिनेट जति छाता ओडाएको देखिने फोटो, भिडियो मैले थाहा नपाइकन भएको घटनाको हो ।’
‘मेरा शुभचिन्तक र आम जनसमुदायमा यस सम्बन्धमा स्पष्ट गर्न चाहन्छु र यस असावधानीका लागि म माफी माग्न चाहन्छु,’ सांसद बुर्लाकोटीले भनेका छन् ।
हुन त रास्वपाका सांसद एवम् पूर्वएआईजीपी विश्वराज पोखरेललाई ओखलढुङ्गाका प्रधानाध्यापकले स्वागत नगरेको भन्दै अपशब्द बोलेको भिडियो भाइरल बनेको छ । बाँके ३ बाट निर्वाचित रास्वपाका सांसद खगेन्द्र सुनारले सिन्धुलीका प्रहरीका एसपीविरुद्ध अपशब्द बोलेर विवादमा परेका छन् । सांसद सुनारले जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका एसपीलाई घिसारेर लैजाने भन्दै टोले गुण्डाको शैलीमा धम्की दिएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया