सिन्धुली घटनाप्रति आईजीपी कार्की गम्भीर, छानविन गर्न डीआईजीको संयोजकत्वमा समिति गठन

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले सिन्धुलीमा न्यायिक हिरासतमा मृत्यु भएका २३ वर्षीय श्रीकृष्ण बि.क.को विषयमा छानविन गर्न समिति गठन गरेको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यको संयोजकत्वमा छानविन समिति गठन गरिएको हो । समितिको सदस्यहरूमा प्रहरी उपरीक्षक रविन्द्रनाथ पौडेल, प्रहरी निरीक्षक ईन्द्रजित सुनार, प्रहरी निरीक्षक प्रेम रेग्मी र प्रहरी नायव निरीक्षक राजेश्वर सापकोटा रहेका छन् ।

समितिले सात दिनभित्र छानविनको काम सम्पन्न गरेर प्रतिवेशन पेश गर्नेछ । समितिले सुक्ष्म ढंगले छानविन तथा घटनाका बारेमा तथ्यगत एवम् वस्तुनिष्ठ छानविन गर्नेछ । घटनाप्रति गम्भीरता देखाउँदै आईजीपी दानबहादुर कार्कीले समिति गठन गरेका छन् । उनले सत्यतथ्य छानविन गरेर प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् ।

सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं. ३ जुम्लीडाँडा बस्ने दलबहादुर बि.क.को छोरा वर्ष २३ का श्रीकृष्ण बि.क.लाई जबरजस्ती करणी मुद्दाको अनुसन्धानको सिलसिलामा सिन्धुली जिल्ला अदालतबाट सात दिनको म्याद थप भइ इलाका प्रहरी कार्यालय, खुर्कोट, सिन्धुलीको न्यायिक हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको समयमा २०८३ वैशाख ७ गते १७ः५९ बजेको समयमा हिरासत कक्षको शौचालयमा बि.क.ले कालो कलरको सर्टको पासो घाँटीमा लगाई झुण्डिएर घाइते भएको अवस्थामा फेला परेका थिए ।

बि.क.को उपचारका क्रममा मृत्यु भएको थियो । सोही घण्टालाई लिएर दलित अधिकारकर्मी र सांसदहरूले छानविन तथा घटनाको सत्यतथ्य जानकारी माग गरेपछि प्रहरी प्रधान कार्यालयले डीआईजी आचार्यको संयोजकत्वमा समिति गठन गरेको छ ।

Published : Friday, 2026 April 24, 4:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया