कांग्रेस संसदीय दल नेता चयनको कार्यक्रम प्रभावित, ससुरालाई बनाउन नसकेपछि गगनद्वारा आचार्यलाई अगाडि ल्याए

काठमाडौं । संसदीय दलको नेता चयनमा विवाद भएपछि नेपाली कांग्रेसले निर्वाचन प्रक्रिया स्थगित गरेको छ ।

शुक्रबार प्रतिनिधि सभा संसदीय दलको नेता चयनका लागि कांग्रेसले विभिन्न कार्यक्रमहरू सार्वजनिक गरेको थियो । विवाद भएपछि कांग्रेस नेतृत्वले दलको नेता चयनको कार्य रोकेको हो ।

दलको नेता सहमतिमा चयन गर्नका लागि उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा सात सदस्य समिति बनाइएको थियो । समितिमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, निर्वाचन समितिका संयोजक प्रकाश रसाइली, मुना भुसाल र राजु कटुवाल रहेका थिए ।

कांग्रेस संसदीय दलको नेता चयनमा सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माबीच पनि कुरा मिलेको छैन । सभापति थापाले सर्वसम्मत भएमा आफ्ना ससुरा अर्जुन नरसिंह केसीलाई बनाउन चाहेका छन् । सहमति नभएर निर्वाचनमा जानुपरे ठेकेदार पृष्ठभूमिका रसुवाबाट निर्वाचित मोहन आचार्यलाई अघि सार्ने रणनीति बनाएका छन् । उपसभापति शर्माले समानुपातिक सांसद भीष्मराज आङ्देम्बेलाई अघि सारेका छन् ।

सभापति थापाका ससुरा समेत रहेका समानुपातिक सांसद केसीले आफूलाई सर्वसम्मत संसदीय दलको नेता बनाउन दवाव सिर्जना गर्दै आएको एक नेताले बताए । केसी दलको नेताका लागि चुनाव लड्ने छैनन् ।

नेताहरूबीच दलको नेता चयनका विषयमा सहमति नजुट्दा शुक्रबार हुने भनिएको निर्वाचन नै स्थगित भएको छ ।

शुक्रबार दिउँसो ३ बजे दरखास्त दिने, दिउँसो ३ः१० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गर्ने, ३ः२० बजे दाबी विरोध दिन सकिने, ३ः२५ बजे दाबी विरोध उपर जाँचबुझ गर्ने, ३ः३० बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गर्ने, ४ः३० बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिने, ४ः४० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन, मतदान साँझ ५ बजेका लागि तय गरिएको थियो ।

Published : Friday, 2026 April 24, 3:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया