हिरासतमा रहेका बिचौलिया भट्टसँग कनेक्सन भेटिएपछि एमालेले पनि माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं । एमालेले बिचौलिया दीपक भट्टसँग सेयरमा साझेदारी भेटिएका गृहमन्त्री सुधन गुरूङको राजीनामा माग गरेको छ ।

मंगलबार प्रेस विज्ञप्ति जारी गरेर एमालेले गृहमन्त्रीसँग जोडिएर सार्वजनिक भएको प्रकरणले केवल आशंका मात्र उत्पन्न नगरेको तथा यसले विगतमा भएका सम्भावित अनियमितता र विसंगतिका रहस्यहरू समेत उजागर गरेको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘गृहमन्त्रीसँग सम्बन्धित विषयहरूमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान प्रक्रिया अगाडि बढाउन नेकपा (एमाले) जोडदार माग गर्दछ । यसका लागि नेकपा (एमाले) स्पष्ट रूपमा भन्छ– अनुसन्धानलाई कुनै पनि प्रकारको शक्ति वा प्रभावबाट मुक्त राखेर अघि बढाइनु पर्दछ ।’

‘गृहमन्त्रीको संलग्नता देखिएका सबै विषयहरूको छानबिन गर्न उच्चस्तरीय संयन्त्र गठन गरी तत्काल अनुसन्धान प्रक्रिया सुरू गरियोस्,’ एमालेले भनेको छ, ‘गृहमन्त्री स्वयंले ढिलासुस्ती वा ढाकछोप नगरी अनुसन्धान प्रक्रियालाई सहज, निष्पक्ष र प्रभावरहित बनाउन तुरून्त मार्गप्रशस्त गर्न हामी माग गर्दछौं ।’

एमालेले मन्त्रीहरूको सम्पत्ति सार्वजनिक भएलगत्तै सरोकारवालाहरूबीच प्रश्न उठ्दै चासो प्रकट हुँदै आएको जनाएको छ । यस विषयमा थप बहस र छलफल हुँदै जाने एमालेले जनाएको छ ।

‘नेपाल सरकारका गृहमन्त्रीसँग जोडिएर सार्वजनिक भएको प्रकरणले केवल आशंका मात्र उत्पन्न गरेको छैन, यसले विगतमा भएका सम्भावित अनियमितता र विसंगतिका रहस्यहरू समेत क्रमशः उजागर हुन सक्ने संकेत गरेको छ,’ एमालेको प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सम्पत्ति विवरणमा सेयर कारोबार लुकाइएको र विवादास्पद व्यापारीसँगको साँठगाँठ रहेको भन्दै गृहमन्त्री गुरूङको आलोचना भइरहेको छ । विवादास्पद व्यापारी एवम् बिचौलिया दीपक भट्ट सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा छन् । उनीहरू विभागले अनुसन्धान गरिरहेको छ ।

Published : Tuesday, 2026 April 21, 6:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया