बिचौलिया भट्टसँग कनेक्सन देखिएपछि गृहमन्त्री गुरुङलाई पक्राउ गरि कारबाही गर्न मागसहित प्रहरीमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता एवम् सांसद समेत रहेका गृहमन्त्री सुधन गुरुङलाई पक्राउ गर्न माग गर्दै जेनजी मुभमेन्ट, नेपालले प्रहरीमा उजुरी दिएको छ ।

मंगलबार जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहले नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा निवेदन दिएका हुन् । प्रहरी महानिरीक्षक (आईजीपी)लाई सम्बोधन गरेर दिइएको निवेदनमा गृहमन्त्री गुरुङलाई पक्राउ गरेर निष्पक्ष रुपमा अनुसन्धान अघि बढाउन अनुरोध गरिएको छ ।

बिचौलिया र विवादित व्यापारी दीपक भट्टसँग गृहमन्त्री गुरुङको व्यावसायिक सम्बन्ध र साझेदारीसहितका प्रमाणहरू मिडियामा सार्वजनिक भएपछि गुरुङलाई बर्खास्त गरेर कारबाहीको माग उठेको छ ।

उजरीमा जेनजी मुभमेन्टले तीन वटा आधार पनि पेश गरेको छ । पहिलो तथ्यगत आधार रहेको जनाइएको छ । ‘मिति २०८३ वैशाख ६ गते हामीले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख भएअनुसार गृहमन्त्री श्री सुधन गुरुङमाथि गम्भीर आरोपहरू सार्वजनिक भएका छन् । उहाँ पदमा बहाल रहेर आफ्नै विरुद्ध छानबिन प्रक्रिया अघि बढाउनु कन्फ्लेक्ट अफ इन्टेरेस्टको स्पष्ट उदाहरण हो,’ निवेदनमा भनिएको छ, ‘पदको ओहदामा रहेर आफ्नैविरुद्ध अनुसन्धान हुन सक्दैन भन्ने आधारभूत कानुनी सिद्धान्त र नेपालको प्रचलित कानुनविपरीत छ ।’

कानूनी आधार पनि रहेको जेनजी मुभमेन्टले दाबी गरेको छ । जेनजी मुभमेन्टले भनेको छ, ‘मुलुकी फौजदारी संहिताको प्रक्रिया अनुसार कुनै पनि व्यक्तिमाथि गम्भीर आरोप लागेमा निष्पक्ष अनुसन्धानका लागि तत्काल पक्राउ गर्न सकिने व्यवस्था छ । पदमा रहेर अनुसन्धान प्रभावित पार्ने कार्यले फौजदारी कसूर (इभिडेन्स ट्याम्परिङ, अब्सट्रक्सन अफ जस्टिस) समेत हुन सक्ने देखिन्छ ।’

जेनजी आन्दोलनाई गुरुङले नै हिंसात्मक बनाएको आरोप लगाइएको छ । ‘पानी वितरणको नाममा स्वयंसेवकको भूमिका निर्वाह गर्ने बहानामा समग्र जेनजी आन्दोलनलाई हाइज्याक गर्दै उक्त आन्दोलनलाई हिंसात्मक बनाउने र राज्यविहीनताको अवस्था सिर्जना गर्ने गम्भीर आपराधिक मनोवृत्ति देखिएको छ,’ निवेदनमा भनिएको छ ।

त्यही आन्दोलनको बलमा गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको पनि आरोप लगाइएको छ । ‘आन्दोलनको दुरुपयोग गरी धन आर्जन, पद प्राप्ति, तथा बिचौलिया र दलालहरूसँग साठगाँठ गरेर गैरकानुनी गतिविधिमा संलग्न रहेको आरोपसमेत बाहिर आएको छ,’ जेनजी मुभमेन्टले भनेको छ, ‘यस प्रकारको कार्यले ७६ जना शहीदहरूको रक्तबलिदान तथा आन्दोलनका क्रममा अङ्गभङ्ग भएका व्यक्तिहरूप्रति गम्भीर अपमान र आघात पु¥याएको छ ।’

आधारमा टेकेर गृहमन्त्री गुरुङलाई पक्राउ गर्न प्रहरीसँग माग गरिएको छ । उनीमाथि निष्पक्ष अनुसन्धान गरी अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरिएको छ ।

नेपाल प्रहरी ऐनअनुसार नै निवेदन दिएको मुभमेन्टका प्रवक्ता शाहले बताएका छन् । उनले भने, ‘यो निवेदन नेपाल प्रहरी ऐन, २०१८ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ बमोजिम दर्ता गरी तत्काल कारबाही अघि बढाइयोस् भन्ने हाम्रो विनम्र अनुरोध छ ।’

प्रहरी प्रधान कार्यालयमा दिएको निवेदनलाई बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा पनि पठाइएको छ ।

Published : Tuesday, 2026 April 21, 3:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया