मलाई कानूनी प्रक्रिया बिना सीआईबीले नियन्त्रणमा लियो, म ठूला करदाता हुँ : कांग्रेस नेता खड्का
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्काले आफू असत्य, अन्याय र दमनका विरुद्ध सधैं लडिरहने बताएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत नेता खड्काले आफू र आफ्नो जीवन एक खुला किताब जस्तै रहेको बताएका छन् । उनले राज्यका हरेक निकायबाट हुने अनुसन्धानमा सधैं सहयोग गर्दै आएको बताए ।
‘तथापि, राजनीतिक प्रतिशोध, पूर्वाग्रह, सामाजिक सञ्जालमा देखावटी गतिविधि प्रदर्शन गर्ने प्रवृत्ति तथा जसरी पनि नियन्त्रणमा लिने मानसिकताबाट प्रेरित भई, २०८२ साल चैत १५ गते बिहान सबेरै केही व्यक्तिहरू मेरो निवासमा प्रवेश गरी बिना स्पष्ट सूचना र आवश्यक कानूनी प्रक्रिया मलाई नियन्त्रणमा लिइयो,’ खड्काले भने ।
‘पछि बुझ्दा ती व्यक्तिहरू सीआईबीका कर्मचारी भएको थाहा भयो,’ उनले भने, ‘पक्राउ गर्ने कुनै ठोस आधार वा प्रमाण प्रस्तुत नगरिएता पनि जरुरी पक्राउ पुर्जीको नाममा गैरकानूनी तथा गैरजिम्मेवार ढंगले मलाई नियन्त्रणमा लिइयो ।’
‘यस घटनाले देशमा कानूनी शासन कमजोर बन्दै गएको र गुण्डाराज हावी हुन थालेको अनुभूति गरायो,’ नेता खड्काले भने, ‘एक कानूनी राज्यमा व्यक्तिको स्वतन्त्रता र अधिकारमाथि यसरी खुलेआम हनन हुनु अत्यन्तै गम्भीर विषय हो ।’
उनले भने, ‘ममाथि प्रतिशोधपूर्ण ढंगले विभिन्न बहानामा सम्पत्ति शुद्धीकरण, आन्तरिक राजश्व विभाग र राजस्व अनुसन्धान विभागमार्फत अनुसन्धानको नाममा गैरकानूनी तथा गैरजिम्मेवार ढंगबाट पक्राउ, हिरासत र म्याद थप गरियो। यी सबै कदमहरू पूर्णतः अन्यायपूर्ण र प्रतिशोधबाट प्रेरित थिए ।’
‘यस क्रममा सम्मानित अदालतले सरकारद्वारा गरिएको कानूनको दुरुपयोगप्रति स्पष्ट टिप्पणी गर्दै स्पष्ट टिप्पणी गर्दै न्यायिक र यथार्थपरक आदेश दिएकोमा हामी न्यायप्रति अझ दृढ विश्वास गर्न प्रेरित भएका छौं,’ नेता खड्काले भने ।
‘सत्य तथ्य उजागर गर्ने मिडिया तथा सामाजिक सञ्जालप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ नेता खड्काले भने, ‘केही कथित मिडिया र सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने तथा परिवारमाथि मानसिक दबाब सिर्जना गर्ने प्रयासहरू निन्दनीय र खेदजनक छन् ।’
‘म राष्ट्रिय राजनीतिमा प्रवेश गर्नुअघि नै व्यवसायमार्फत स्थापित भइसकेको र राज्यका लागि ठूलो कर योगदान गर्ने व्यक्ति हुँ,’ नेता खड्काले भने ।
‘राजनीतिमा आएपछि मैले पाएकोभन्दा धेरै गुमाएको छु,’ पूर्वमन्त्री खड्काले भने, ‘मेरो लागि राजनीति पेशा होइन, सेवा गर्ने माध्यम हो । देश र जनताको हितप्रति पूर्ण प्रतिबद्धता नै मेरो मूल उद्देश्य हो ।’
उनले भने, ‘हामी सबै राजनीतिज्ञहरू पारदर्शी र जवाफदेही हुनैपर्छ । निष्पक्ष छानबिन आवश्यक छ र यही कारणले मैले सधैं ममाथि लगाइएका आरोपहरूको निष्पक्ष छानबिन हुनुपर्छ भन्ने कुरा मैले सधैं उठाउँदै आएको छु ।’
‘छानबिन मबाटै शुरु होस् भनेको नै हु तर, बिना पर्याप्त प्रमाण र विधि, प्रक्रिया प्रतिशोधपूर्ण ढंगले गरिएका यस्ता गैरजिम्मेवार तथा गैरकानूनी छानबिनहरूले राज्यप्रति नै गम्भीर प्रश्न उठेका छन्,’ खड्काले भने ।
‘म एक जिम्मेवार नागरिकका रूपमा कानूनी तथा राजनीतिक रूपमा आफ्नो लडाइँ निरन्तर अघि बढाउनेछु,’ उनले भने, ‘असत्य, अन्याय र दमनविरुद्ध सधैं दृढतापूर्वक उभिने मेरो अठोट अटल छ ।’
उनले भने, ‘म सम्मानित सर्वोच्च अदालतप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु । साथै, यस कठिन घडीमा आवाज उठाउनुहुने सम्पूर्ण न्यायप्रेमी दिदीबहिनी तथा दाजुभाइहरू, साथ दिने कानून व्यवसायी मित्रहरू, न्यायकर्मी, सञ्चारकर्मी तथा विभिन्न राजनीतिक दल र नेताहरूप्रति पनि हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।’
‘म असत्य, अन्याय र दमनका विरुद्ध सधैं लडिरहनेछु र जहाँ सत्य र न्याय हुन्छ, त्यहाँ अन्ततः विजय निश्चित हुन्छ,’ कांग्रेस नेता खड्काले भनेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया