एक सय रुपियाँको दैनिक उपभोग्यबस्तुमा समेत भन्सार लिने कार्य स्वीकार्य छैन, प्रतिरोध हुन्छ : कांग्रेस सांसद शाह

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद अभिषेक प्रताप शाहले नेपाल–भारत सिमानामा एक सय रुपियाँको सामना ल्याउँदा पनि भन्सार लिने कार्य भएको भन्दै आक्रोश पोखेका छन् ।

सोमबार प्रेस विज्ञप्ति जारी गरेर नेता शाहले सर्वसाधारण नागरिकले भारतबाट नेपालतर्फ दैनिक उपभोग्य सामग्री ल्याउँदा
एक सय रुपियाँको समानमा समेत भन्सार लिने गरेको भन्दै कडा शब्दमा भर्त्सना र विरोध गरेका छन् ।

उनले भने, ‘विगत केही दिनदेखि तराईका भन्सार नाकाहरूबाट नेपाली रुपियाँ १०० को सामान भारतबाट नेपाल ल्याउँदा पनि भन्सार शुल्क बुझाउनुपर्ने व्यावस्थाले सीमा क्षेत्रका सर्वसाधारणलाई समस्यामा पार्ने योजनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’

नेता शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्कर, ठूलोबडा र कथित भीभीआईपी र भीआईपीहरूले पहुँचको भरमा क्वीन्टलबाट सुन छिराउन हुने तर, घरखर्चका लागि ल्याउन सामानहरूमा भन्सार लगाउने वर्तमान सरकारको कार्यशैलीको विरोध गरेका छन् ।

‘ठूलाबडाले एयरपोर्टको भन्सारबाट सुनसम्म ल्याउन मिल्ने तर, सामान्य व्यक्ति भारतका बजारबाट दैनिक उपभोग्यबस्तु घर ल्याउँदा मालसमान खोस्ने, भन्सार गराउने जस्ता बदनीयतपूर्ण भेदभावप्रति मेरो ठाडो विरोध छ,’ नेता शाहले भने ।

‘अहिलेको सरकारले २०४८ सालको भन्सार ऐनलाई विश्वव्यापी महँगीको समयमा लागू गर्नु नेतृत्वको नियतमै खोट रहेको मेरो बुझाई छ,’ उनले भने ।

‘विश्वको अर्थतन्त्र नै घोप्टो परेको वर्तमान अवस्थामा नेपालका आमनागरिक दिउँसो काम गरि साँझ खाना पाउनेलाई यस्ता अमानवीय कार्यले भने पिरोलेको महसुस भएको छ,’ नेता शाहले भने ।

‘नेपाल सरकारले भन्सारको समस्या छिटै समाधान गरेन भने म लगायत तराई मधेशबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण संसद सदस्य एकजुट भई सशक्त आन्दोलन गर्न बाध्य हुनेछौं,’ कांग्रेस नेता एवम् सांसद शाहले चेतावनी दिएका छन् ।

‘देश र जनताका हितका निर्णयमा सरकारसँगै हातेमालो गर्न म सदैव कटिवद्ध छु,’ उनले भने, ‘देश र जनहित विपरीतका निर्णयविरुद्ध सडकदेखि सदनसम्म सशक्तरुपमा प्रस्तुत हुन परे पछाडि नहट्ने कुरा यसै विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छु ।’

नेपाल र भारत दुई असल छिमेकी देश मात्र नभई आर्थिक, धार्मिक, सांस्कृतिक, सामाजिक, राजनीतिक लगायत विभिन्न क्षेत्रमा अन्तरसम्बन्ध रहेको अवस्थामा एक सय रुपियाँको सामानमा समेत भन्सार लगाउने कार्य उपयुक्त नहुने नेता शाहले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झण्डै दुईतिहाईको सरकारले भारतबाट नेपाल ल्याइने दैनिक उपभोग्य सामग्रीहरूमा समेत भन्सार लिएर दुःख दिन थालेपछि विरोध भइरहेको छ । नेपाल–भारत सिमाना आसपास बसोबास गर्ने नागरिकले दुबै देशतर्फ आवत जावत गरेर सामान खरिद गरेर गुजारा चलाउँदै आएका छन् ।

Published : Monday, 2026 April 20, 9:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया