वीपी पुत्रद्वारा कार्यबाहक सभापति खड्कालाई भएको कारबाहीको विरोध, अध्यावधि आवश्यक छैन

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरणले पार्टीभित्रको बृहत् एकतामा बाधा पुर्‍याउने बताएका छन् ।

बिहीबार प्रेस विज्ञप्ति जारी गरेर वीपी कोइरालाका पुत्रसमेत रहेका केन्द्रीय सदस्य डा.कोइरालाले अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा यस्तो निर्णयले पार्टी जीवन र समग्र लोकतान्त्रिक प्रक्रियामै नकारात्मक असर पार्न सक्ने बताए ।

डा.कोइरालाले नेपाली कांग्रेस अहिले इतिहासकै कमजोर अवस्थाबाट गुज्रिरहेको बताएका छन् । आन्तरिक विवादले पार्टी मात्र होइन, समग्र लोकतन्त्र र व्यवस्थामै असर पार्ने जोखिम बढाएको डा.कोइरालाले बताए ।

उनले यस्तो संवेदनशील घडीमा तल्लो तहदेखि शीर्ष नेतृत्वसम्म एकता अपरिहार्य भएको बताए । गगनकुमार थापा नेतृत्वको कांग्रेसले बुधबार नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खडकालाई सात दिनको स्पष्टीकरण सोध्ने निर्णय लिएपछि विरोध भइरहेको छ ।

नेता डा.कोइरालाले पार्टीभित्र मतभेद हुनु स्वाभाविक भए पनि त्यसलाई व्यवस्थापन गर्ने तरिका महत्वपूर्ण हुने बताएका छन् ।

विगतमा भएका आन्दोलन र परिवर्तनका क्रममा पार्टीले समयानुकूल रूपान्तरणको आवश्यक महसुस गरेको भए पनि अहिले देखिएको गतिविधिले कांग्रेसलाई थप कमजोर बनाउने खतरा रहेको नेता डा.कोइरालाले बताएका छन् ।

कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद अदालतमा विचाराधीन रहेको स्मरण गराउँदै उनले यस्तो अवस्थामा कार्यबाहक सभापति खड्कालाई सोधिएको स्पष्टीकरणले पार्टी एकतामा सकारात्मक योगदान नपु¥याउने बताए ।

उनले आन्तरिक गतिविधि र अनुशासनात्मक कदमहरूका कारण पार्टी जीवन थप संकटतर्फ धकेलिन सक्ने बताएका छन् ।

नेता डा.कोइरालाले १५औं महाधिवेशनको तयारीका लागि क्रियाशील सदस्यताको नवीकरण भइसकेको अवस्थामा अहिले सदस्यता अद्यावधिकको नाममा गरिने फेरबदलले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, निष्पक्षता र पारदर्शितामा असर पार्ने बताएका छन् ।

डा.कोइरालाले कांग्रेस अझै वैचारिक र संरचनात्मक रूपमा विभाजित नभएको बताएका छन् । उनले आमकार्यकर्तामा एकताको भावना कायम राख्न अपील गरेका छन् ।

नेता डा.कोइरालाले पार्टीलाई एकताबद्ध बनाउँदै लोकतान्त्रिक मूल्य र मान्यताको रक्षा गर्न सबै तहका नेता, कार्यकर्तालाई आह्वान गरेका छन् ।

Published : Thursday, 2026 April 16, 11:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया