खड्काको रिटमा सर्वोच्चद्वारा थुना पर्चा, विभागको कागजातसहित बिहीबार १२ बजेसम्म जवाफ पेस गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्वमन्त्री दीपक खड्काको रिटमा कारण देखाउ आदेश जारी गरेको छ ।

बुधबार सर्वोच्च अदालतमा न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको इजलासले विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो । विनिता थापा पूर्वमन्त्री खड्काकी पत्नी हुन् ।

सर्वोच्च अदालतले पूर्वमन्त्री खड्कालाई थुनामा राख्नुको कारणबारे राजस्व अनुसन्धान विभागबाट अनुरोध भएको तथा ललितपुर जिल्ला अदालतबाट म्याद थप हिरासतमा राख्न अनुमति भएको भए सोसम्बन्धी सम्पूर्ण कागजातहरूसहितको मिसिल तथा ललितपुर जिल्ला अदालतबाट म्याद थप हुँदा थप पर्चा खडा गरिएको भए सो पर्चा समेत संलग्न गरी बिहीबार १२ बजेसम्ममा प्राप्त हुने गरि पेस गर्न भनिएको छ ।

आदेशमा भनिएको छ, ‘राजस्व अनुसन्धान विभागबाट अनुरोध भएको तथा ललितपुर जिल्ला अदालतबाट म्याद थप (हिरासतमा राख्न अनुमति भएको भए सोसम्बन्धी सम्पूर्ण कागजातहरूसहितको मिसिल तथा ललितपुर जिल्ला अदालतबाट म्याद थप हुँदा थप पर्चा खडा गरिएको भए सो पर्चा समेत संलग्न गरी मिति २०८३/०१/०३ गते १२ बजेसम्ममा प्राप्त हुने गरी राजस्व अनुसन्धान विभाग र ललितपुर जिल्ला अदालतबाट निज निवेदकलाई थुनामा राख्नुको कारणसहितको लिखित जवाफ समेत झिकाई प्रस्तुत रिट निवेदन मिति २०८३/०१/०३ गतेका लागि नियमानुसार पेशी तोक्नु भनी आदेश गरी दिएको छ ।’

सर्वोच्च अदालतको आदेशमा भनिएको छ, ‘साथै निज निवेदकलाई हाल जे जुन अवस्थामा राखिएको छ । मिति २०८३/०१/०३ मा प्रस्तुत रिट निवेदनको सुनुवाइ नभएसम्म सोही अवस्थामा यथास्थितिमा राख्नु भनी विपक्षीहरूका नाममा थप आदेश समेत जारी गरी दिएको छ ।’

Published : Wednesday, 2026 April 15, 4:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया