कांग्रेसको क्रियाशील सदस्यता इजरमा बाँधेर सुरक्षित राख्नेहरूलाई संवाद होइन कारबाहीको धाक देखाउनु अतिवाद हो : केदार कार्की

काठमाडौं । नेपाली कांग्रेसका नेता केदार कार्कीले सहमति, सहकार्य, वार्ता, सम्वादबाट पार्टीलाई एकजुट बनाउनुपर्नेमा कारबाहीको धम्की दिने गरिएकोप्रति आक्रोश पोखेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत नेता कार्कीले गगनकुमार थापाको नाम उल्लेख नगरेर अतिवादी नबन्न चेतावनी दिएका छन् । उनले पञ्चायतकालदेखि माओवादीको सशस्त्र द्वन्द्वका बेला समेत इजारामा लुकाएर राखेको क्रियाशील सदस्यता खारेज गर्ने गगन थापाको धम्कीको जबरजस्त विरोध गरेका छन् ।

नेता कार्कीले भनेका छन्, ‘पञ्चायतको निरंकुश सरकारले धम्की दिँदा, कठघरामा उभ्याउँदा, आर्मी र पुसिसको बुटले शरीरका अंगअंगमा बजार्दा, सँगै भएको साथीलाई आँखा अगाडि गोली ठोक्दा नेपाली कांग्रेस जिन्दावाद, प्रजातन्त्र जिन्दावाद, जय नेपाल भनेर नारा लागाउने, माओवादीले छानीछानी रुखमा बाँधेर घाँटी रेटेर मार्दा वीपी, सुवर्णशम्शेर, किसुनजी, गिरिजाप्रसादहरूले दिएको सदस्यता इजरमा बाँधेर सुरक्षित राख्नेहरूलाई संवाद होइन कारबाहीको धाक देखाउनु अतिवाद हो ।’

‘हामीले विशेष महाधिवेशनबाट सिङ्गो कांग्रेसको सभापति बनाएको हो,’ कार्कीले भने, ‘दास, लास, अश्लील, अराजक, अनुशासनहीन कविलाको नाइके बनाएको होइन ।’

नेता कार्कीले भने, ‘संवाद गर्नुस् समाधान निकाल्नुस् । जिम्मेवार हुनुस् । सबै मिलेर एक नेपाली कांग्रेसको नियमित महाधिवेशन गरौं । संवाद नै समाधानको उपाय हो भन्ने थाहा होला नी ।’

भृकुटीमण्डप भेलाबाट नेपाली कांग्रेसलाई हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरेका गगनकुमार थापाले क्रियाशील सदस्यता अध्यावधिको नाममा विधान विपरीतका गतिविधिहरू गर्न थालेपछि नेता कार्कीले चेतावनी दिएका हुन् । उनले गगनलाई वार्ता र सम्वाद थाल्न तथा वीपी कोइरालाले वितरण गरेको क्रियाशील सदस्यता खारेज गर्ने र नेताहरूलाई कारबाही गर्ने धम्कीको औचित्य नरहेको बताएका हुन् ।

Published : Wednesday, 2026 April 15, 10:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया