गगनद्वारा कारबाहीको धम्की, उनीहरू पार्टीको सदस्य रहन योग्य छैनन्, मेरो प्रयासलाई कमजोरी नठानियोस्

काठमाडौं । भृकुटीमण्डप भेलाबाट आफूलाई नेपाली कांग्रेसको सभापति घोषणा गरेका गगनकुमार थापाले सभापति शेरबहादुर देउवा समूहका नेताहरूलाई सीमाबाहिर गएर गतिविधि नगर्न चेतावनी दिएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने, ‘पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ । सीमाभन्दा बाहिर गएर यसलाई सहन सक्ने कुरा हुँदैन ।’

थापाले सबैलाई मिलाएर लैजाने आफ्नो प्रयासलाई कमजोरी नठानिदिन चेतावनी दिएका छन् । उनले कार्यबाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूलाई कारबाही गर्ने संकेत गरेका छन् ।

थापाले आफ्नो जिम्मेवारीअनुसार सबैलाई समेटेर लैजाने बताए । उनले भने, ‘मैले राख्ने लचकता र विनम्रतालाई कृपा गरेर कमजोरी नठानी दिनुहोला । म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु ।’

उनले पार्टीको विधान र अनुशासनभित्र रहेर काम गर्न सबै नेता कार्यकर्तालाई आग्रह गर्दै सहयोग गर्नेलाई धन्यवाद दिए र अवरोध गर्नेलाई सचेत गराउने बताए ।

उनले आफू पनि पार्टीको विधानले बाँधिएको बताए । ‘सक्नेले मलाई सहयोग गरिदिनुहोला, नसक्नेले तङ नगरी दिनुहोला,’ थापाले भने ।

थापाले आफ्नो पार्टीले प्रतिपक्षको भूमिका जिम्मेवारीपूर्ण ढंगले निर्वाह गर्ने बताए । उनले भने, ‘ताली एक हातले मात्र बज्दैन, दुई हातले बज्छ । हामी मिलेर काम गर्ने भनेका भन्यै छौँ । हामीलाई मिलाएर, सँगसँगै लिएर जाने हो कि होइन यो सरकारको काम हो ।’

उनले भने, ‘नागरिकको पीर मर्काको कुरा उठाउने जिम्मेवारी हाम्रो हो । हामी सबै ठाउँमा टाङ अड्काउने कुरा, अफ्ठेरो पार्ने कुरा हामीबाट त्यो हुँदैन ।’

थापाले प्रदेश र स्थानीय सरकारलाई परिणाम दिने गरी मिलाएर काम गर्न चाहेको बताएका छन् । उनले प्रदेश सरकारहरूबाट कांग्रेसका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउनेतर्फ पनि संकेत गरेका छन् ।

थापाले आगामी वैशाख १५ गतेभित्रमा देशैभरका वडा तहमा क्रियाशील सदस्यता अध्यावधि, नवीकरण तथा वितरणको काम सम्पन्न गरिसक्नुपर्ने बताए ।

उनले भने, ‘जसले म कांग्रेसको क्रियाशील सदस्यता नवीकरण गर्दिन भन्छ, उनीहरू पार्टीको सदस्य रहन योग्य छैनन् ।’

Published : Tuesday, 2026 April 14, 8:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया